भोटेकोसी बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख सहयोग

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

    बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले ७ लाख रुपैयाँ बराबरका विभिन्न खाद्यान्न सामग्री समेत सहयोग गरेको जनाएको छ।

    बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

    भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरिएको जनाएको छ।

    प्राइम कमर्सियल बैंकले प्राकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ। यसअघि पनि विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गर्दै आएको बैंकले उल्लेख गरेको छ।

    बैंकले प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar