नेपाली बजारमा भित्रिँदै किया क्लाभिस ईभी, मूल्य ५६ लाख ९० हजार रुपैयाँ

  • कालिका खवर
  • सोमवार, भदौ १५, २०८३
  • काठमाडौं । नेपाली अटोमोबाइल बजारमा अटोप्रेमीहरूको प्रतीक्षामा रहेको कियाको नयाँ विद्युतीय एसयूभी किया क्लाभिस ईभी भित्र्याउने प्रक्रिया सुरु भएको छ। किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले उक्त आधुनिक विद्युतीय गाडी नेपाल ल्याउने तयारी तीव्र पारेको हो।

    भारतीय उत्पादन केन्द्रबाट बजारमा आएको यो विद्युतीय एसयूभी नेपाली उपभोक्तामाझ ल्याउन कम्पनीले आवश्यक आन्तरिक गृहकार्य अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले बजार प्रवेशअघि नै यसको मूल्यसमेत सार्वजनिक गरिसकेको छ।

    सार्वजनिक विवरणअनुसार किया क्लाभिस ईभीको नेपाली बजारका लागि अधिकतम खुद्रा मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ। भारतीय बजारमा भने यो गाडी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर क्षमताका दुई फरक ब्याट्री विकल्पमा उपलब्ध छ।

    निर्माता कम्पनीका अनुसार यी ब्याट्रीप्याकले क्रमशः ४०४ किलोमिटर र ४९० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छन्। नेपाली बजारमा दुवै भेरिएन्ट उपलब्ध हुनेछन् वा कुनै एक मात्र भेरिएन्ट ल्याइनेछ भन्ने विषयमा आधिकारिक बिक्रेताले भने स्पष्ट जानकारी दिएको छैन।

    आधुनिक प्रविधिले सुसज्जित क्लाभिस ईभीमा फास्ट चार्जिङ सुविधा पनि उपलब्ध छ। फास्ट चार्जरको प्रयोगबाट गाडीको ब्याट्रीलाई करिब ३९ मिनेटमै १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ। ६ देखि ७ जनासम्म सहजै यात्रा गर्न मिल्ने यो एसयूभीमा दुई फरक मोटर विकल्प उपलब्ध छन्।

    यसको सानो मोटरले १३५ हर्षपावर र ठूलो मोटरले १७१ हर्षपावरसम्मको शक्ति उत्पादन गर्न सक्षम रहेको छ।

    गाडीको बाहिरी डिजाइन पनि आकर्षक र आधुनिक बनाइएको छ। यसको समग्र लुक्स पेट्रोल संस्करणसँग मिल्दोजुल्दो देखिए पनि विद्युतीय पहिचानलाई विशेष बनाउन छुट्टै डिजाइन तत्वहरू प्रयोग गरिएको छ। गाडीमा नयाँ प्रविधिको एरोडाइनामिक एलोय ह्वील, अत्याधुनिक एलईडी डीआरएल तथा पछाडिको भागमा आकर्षक कनेक्टेड एलईडी टेललाइट जडान गरिएको छ।

    आकर्षक डिजाइन, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ सुविधा र पारिवारिक यात्राका लागि पर्याप्त सिट क्षमतासहित किया क्लाभिस ईभी नेपाली विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा आउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar