भोटेकोशी बाढीपीडितका लागि राखिएका खाद्य सामग्रीको गुणस्तर सन्तोषजनक

  • कालिका खवर
  • सोमवार, भदौ १५, २०८३
  • काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराइने खाद्य पदार्थको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धमा संयुक्त अनुगमन गरिएको छ। अनुगमनका क्रममा राहतका लागि भण्डारण गरिएका खाद्य पदार्थको अवस्था सन्तोषजनक पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा २०८३ भदौ १३ गते संयुक्त अनुगमन गरिएको हो। अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, विश्व खाद्य कार्यक्रम नेपाल तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रतिनिधिहरू सहभागी थिए।

    संयुक्त टोलीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित भण्डारण स्थलमा राखिएका दाल, चामल, तेल तथा नुनलगायतका खाद्य पदार्थको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा सबै खाद्य सामग्री सुरक्षित रूपमा पेलेटमाथि भण्डारण गरिएको र कुनै पनि खाद्य वस्तुको उपभोग्य मिति समाप्त नभएको पाइएको विभागले जनाएको छ।

    अनुगमन टोलीका अनुसार भण्डारण कक्षको सरसफाइ तथा कीट नियन्त्रणको व्यवस्था पनि सन्तोषजनक रहेको छ। मुसुरो दालका केही बोरा खोली भौतिक निरीक्षण गर्दा आँखाले देखिने गरी कीरा वा बाह्य पदार्थ नपाइएको जनाइएको छ।

    त्यस्तै, स्तरउन्नति गरिएको अर्थात् फोर्टिफाइड चामलका विभिन्न ब्याचका केही बोरा खोली निरीक्षण गर्दा समेत कीरा तथा बाह्य पदार्थ नदेखिएको विभागले जनाएको छ।

    अनुगमन टोलीले बाढीपीडितका लागि खाद्य पदार्थ ढुवानी गर्दा स्वच्छता, गुणस्तर तथा सुरक्षासम्बन्धी आवश्यक मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। साथै, राहत सामग्री वितरण गर्दा ‘गुड डिस्ट्रीब्युसन प्राक्टिसेस’ (जीडीपी) को प्रोटोकलअनुसार मात्र वितरण गर्न भनिएको छ।

    विभागका अनुसार यस पटक एक वटा खाद्य व्यवसायको निरीक्षण गरिएको हो। वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माद्वारा २०८३ भदौ १५ गते जारी विवरणमा बाढीपीडितका लागि उपलब्ध गराइने खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्न निरन्तर अनुगमनलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar