नाडा अटो शोमा टाटाका ईभीमा विशेष छुट, पञ्चदेखि नेक्सनसम्मको मूल्य घट्यो

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । काठमाडौंमा जारी स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ लाई लक्षित गर्दै टाटा मोटर्सले आफ्ना विद्युतीय सवारीसाधनमा विशेष मूल्य घोषणा गरेको छ। कम्पनीले विभिन्न मोडेलमा छुटसहित नयाँ मूल्य सार्वजनिक गरेको हो।

    टाटा पञ्च ईभी ३२.९९ लाखमा

    नाडा अफरअन्तर्गत टाटा पञ्च ईभीको मूल्य ३३.९९ लाख रुपैयाँबाट घटाएर ३२.९९ लाख रुपैयाँ कायम गरिएको छ। कम्पनीले पञ्च ईभीमा १ लाख रुपैयाँ छुट दिएको हो।

    नयाँ पञ्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टाका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिन्छ।

    पञ्च ईभीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटर बुट स्पेसलगायतका सुविधा छन्।

    टियागो ईभी २७.९९ लाखमा

    त्यस्तै, टाटा टियागो ईभीको मूल्य पनि १ लाख रुपैयाँ घटाइएको छ। २८.९९ लाख रुपैयाँ रहेको यसको मूल्य नाडा अटो शोमा २७.९९ लाख रुपैयाँ कायम गरिएको छ।

    टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री प्याक जडान गरिएको छ। ५५ किलोवाट क्षमताको विद्युतीय मोटरले ११४ एनएम टर्क उत्पादन गर्छ।

    नेपाली सडकका उकालो–ओरालो तथा सहरी ट्राफिकका लागि यसको पावरट्रेन उपयुक्त हुने कम्पनीको दाबी छ। नेपाली बजारमा लोकप्रिय रहेको टियागो ईभीको नयाँ संस्करणले कार्यक्षमता र व्यावहारिकतामा थप सुधार ल्याएको कम्पनीले जनाएको छ।

    नेक्सन ईभी क्रियटिभ ४२.४९ लाखमा

    टाटाले नेक्सन ईभी क्रियटिभको मूल्य पनि संशोधन गर्दै ४२.४९ लाख रुपैयाँ कायम गरेको छ। यसअघि यसको सुरुवाती मूल्य ४३.४९ लाख रुपैयाँ रहेको थियो। नाडा अटो शोको विशेष अफरअन्तर्गत १ लाख रुपैयाँ छुट प्रदान गरिएको कम्पनीले जनाएको छ।

    नयाँ नेक्सन ईभीमा ४५ किलोवाट आवर क्षमताको ‘प्रिज्म्याटिक ब्याट्री’ प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ३७५ किलोमिटरसम्म रेन्ज दिन्छ। गाडीमा ९८ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ।

    नेक्सन ईभीलाई ७.२ किलोवाटको एसी चार्जर तथा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जरबाट चार्ज गर्न सकिन्छ। ऊर्जा दक्षता बढाउन यसमा चार तहको ‘रिजेनेरेटिभ ब्रेकिङ सिस्टम’ समेत उपलब्ध छ।

    नाडा अटो शोमा टाटाले घोषणा गरेको विशेष मूल्यले नेपाली बजारमा विद्युतीय सवारीसाधनको पहुँच थप सहज बनाउने र ग्राहकको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar