पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • कालिका खवर
  • सोमवार, भदौ ८, २०८३
  • काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

    सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायतका सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची छ ।

    यसैगरी, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने तय भएको छ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्राविधिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

    बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी विषयमा छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’माथि सैद्धान्तिक छलफल हुनेछ ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्दैछ । बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीतिका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar