पाँचौँ पुस्ताको हुन्डाई टक्सन सार्वजनिक, डिजाइनमा ठूलो परिवर्तन

  • कालिका खवर
  • बिहिबार, भदौ ४, २०८३
  • काठमाडौँ । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी टक्सनको पाँचौँ पुस्ता सार्वजनिक गरेको छ। नयाँ पुस्ताको टक्सनमा कम्पनीले डिजाइन, आकार र इन्टेरियरमा व्यापक परिवर्तन गरेको छ।

    हुन्डाईले नयाँ पुस्ताका गाडीहरूमा डिजाइनमा आमूल परिवर्तन गर्दै आएको छ। सोही निरन्तरताअनुसार नयाँ टक्सनलाई पनि अघिल्लो पुस्ताको तुलनामा निकै फरक र आधुनिक स्वरूप दिइएको छ। रोबोट चलचित्रका पात्रजस्तो तिखा कुना तथा बाकस आकारको डिजाइनले नयाँ टक्सनलाई थप बलियो र रफ–टफ लुक दिएको छ।

    नयाँ टक्सनको लम्बाइ ४,७०० मिलिमिटर, चौडाइ १,९०५ मिलिमिटर र उचाइ १,६८५ मिलिमिटर रहेको छ। अघिल्लो मोडलको तुलनामा यो ६० मिलिमिटर लामो, ४० मिलिमिटर चौडा र २० मिलिमिटर अग्लो भएको छ। यसको ह्वीलबेस पनि ३० मिलिमिटर बढेर २,७८५ मिलिमिटर पुगेको छ।

    आकार बढेसँगै टक्सनको केबिनमा पनि थप ठाउँ उपलब्ध गराइएको छ। पछाडिको ढोका १० डिग्री बढी खुल्ने बनाइएको छ, जसले यात्रुलाई गाडीभित्र प्रवेश गर्न र बाहिरिन सहज बनाउनेछ। गाडीको उचाइ बढाइएकाले पछाडिका यात्रुले थप हेडरुम पाउनेछन्।

    नयाँ टक्सनको बाहिरी डिजाइनमा हुन्डाईले ‘आर्ट अफ स्टिल’ अवधारणा प्रयोग गरेको छ। अगाडि र पछाडि दुवैतर्फ एच–आकारका लाइटिङ एलिमेन्ट प्रयोग गरिएका छन्। ठूला तथा फराकिला सिसाले गाडीको बाहिरी डिजाइनलाई थप आकर्षक बनाएको छ।

    १७ इन्चको कर्भ्ड डिस्प्ले

    नयाँ टक्सनको इन्टेरियरलाई पनि पूर्ण रूपमा नयाँ स्वरूप दिइएको छ। यसमा हुन्डाईको नयाँ ‘प्लियोस’ इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ, जुन १७ इन्चको ठूलो कर्भ्ड डिस्प्लेमा उपलब्ध हुनेछ।

    डिजिटल स्क्रिनको प्रयोग बढिरहेको समयमा हुन्डाईले चालकको सहजताका लागि डिस्प्लेमुनि भौतिक कन्ट्रोल बटनहरू पनि राखेको छ। चालकको अगाडि ड्यासबोर्डको माथिल्लो भागमा पातलो डिजिटल इन्स्ट्रुमेन्ट मिटर दिइएको छ।

    केबिनमा प्रिमियम कपडा, काठको सजावट र एम्बियन्ट लाइटिङ प्रयोग गरिएको छ। यसले नयाँ टक्सनको इन्टेरियरलाई थप प्रिमियम तथा आरामदायी बनाएको कम्पनीको डिजाइन अवधारणाले देखाउँछ।

    इन्जिनको विवरण सार्वजनिक हुन बाँकी

    हुन्डाईले नयाँ टक्सनको इन्जिन तथा प्राविधिक क्षमताबारे विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरेको छैन। बजारमा आउँदा यसमा थप बलियो एक्सआरटी तथा स्पोर्टी एन लाइन भेरियन्टसमेत उपलब्ध हुने अनुमान गरिएको छ।

    दक्षिण कोरियाली बजारमा नयाँ टक्सन यसै वर्षको अन्त्यदेखि बिक्रीमा आउनेछ। सन् २०२७ सम्ममा विश्वका अन्य बजारमा पनि यो एसयूभी उपलब्ध हुने अपेक्षा गरिएको छ।

    नेपालमा पनि टक्सनको बलियो उपस्थिति

    नेपाली बजारमा हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पहिलो पुस्तादेखि नै टक्सनका विभिन्न पुस्ता तथा भेरियन्ट बिक्री गर्दै आएको छ। नेपालमा हालसम्म टक्सनका विभिन्न जेनेरेसनअन्तर्गत जीएल, जीएल एक्स र जीएल एक्स प्लस लगायतका भेरियन्ट लोकप्रिय रहँदै आएका छन्।

    नयाँ पुस्ताको टक्सन विश्व बजारमा प्रवेश गरेसँगै नेपाली बजारमा समेत यसको आगमनलाई चासोका साथ हेरिएको छ। नयाँ डिजाइन, थप फराकिलो केबिन र आधुनिक प्रविधिसहितको पाँचौँ पुस्ताको टक्सनले नेपाली एसयूभी बजारमा पनि नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar