प्रोटोन इ.मास ५ को ‘रिडिफाइन योर एभ्रिडे’ टीभीसी फिल्म सार्वजनिक

  • कालिका खवर
  • बिहिबार, भदौ ४, २०८३
  • काठमाडौँ। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन इ.मास ५ का लागि ‘रिडिफाइन योर एभ्रिडे’ नामक टीभीसी फिल्म सार्वजनिक गरेको छ।

    ‘रिडिफाइन योर एभ्रिडे’ अवधारणालाई प्रस्तुत गर्ने टीभीसी फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथालाई समेटिएको छ। करियरको महत्वपूर्ण मोडमा रहेका युवा उद्यमीदेखि सिर्जनात्मक स्थानको खोजीमा रहेका कलाकार, कुनै निश्चित योजनाबिना यात्रामा निस्किएका साथीहरू र सँगै समय बिताइरहेको परिवारसम्मका कथामार्फत आधुनिक सहरी जीवनका विविध पक्षलाई देखाइएको कम्पनीले जनाएको छ।

    अभियानमा केवल प्रविधिलाई केन्द्रमा नराखी इ.मास ५ को फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले दैनिक जीवनका अनुभवलाई कसरी सहज बनाउन सक्छ भन्ने देखाइएको छ। कम्पनीका अनुसार दैनिक जीवनलाई पुनःपरिभाषित गर्नु सधैँ ठूलो परिवर्तन गर्नु मात्र होइन, आफूले बाँचिरहेका क्षणलाई अझ सहज र सुन्दर बनाउनु पनि हो भन्ने सन्देश टीभीसी फिल्मले दिन खोजेको छ।

    प्रोटोन इ.मास ५ ले हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकबाट उच्च चासो र बुकिङ प्राप्त गरेको कम्पनीको दाबी छ। प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यो इलेक्ट्रिक एसयूभीमा रियर-ह्विल ड्राइभ र जी-ट्र्याक्सन कन्ट्रोल जस्ता सुविधा दिइएको छ।

    इ.मास ५ मा सामान भण्डारणका लागि ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटर क्षमताको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल-एचडी टचस्क्रिन र भेहिकल-टु-लोड (भीटूएल) सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यी सुविधाले गाडीलाई दैनिक आवतजावतसँगै परिवार, काम र यात्राका विभिन्न आवश्यकताका लागि उपयोगी बनाउने कम्पनीको दाबी छ।

    मुख्य टीभीसी फिल्ममा चारै कथाका अंश समेटिएका छन्। कम्पनीले अभियानलाई थप विस्तार गर्दै आगामी हप्ताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्मसमेत सार्वजनिक गर्ने जनाएको छ। ती फिल्महरू प्रोटोन नेपालका डिजिटल प्लेटफर्ममार्फत क्रमशः सार्वजनिक हुनेछन्।

    ‘रिडिफाइन योर एभ्रिडे’ अभियानमार्फत प्रोटोनले इ.मास ५ लाई केवल विद्युतीय सवारीका रूपमा नभई आधुनिक सहरी जीवनशैलीका विभिन्न अनुभवलाई सहज र अर्थपूर्ण बनाउने साधनका रूपमा प्रस्तुत गरेको छ। नयाँ अभियानले नेपाली बजारमा इ.मास ५ को उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar