हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

  • कालिका खवर
  • बिहिबार, भदौ ४, २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल)सँग महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको मुख्य उद्देश्य नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा अन्य महत्वपूर्ण मूल्य शृङ्खला साझेदारहरूको वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराउनु रहेको बैंकले जनाएको छ ।

    सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले औपचारिक रूपमा हस्ताक्षर गरे । यस सहकार्यले समावेशी आर्थिक विकास, उद्यम प्रवर्द्धन तथा मूल्य शृङ्खला सुदृढीकरणमा हेल्भेटास नेपालको अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता, सेवा तथा व्यापक पहुँचसँग जोडेको छ । दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच विस्तार र मूल्य शृङ्खला वित्तीयकरणलाई प्राथमिकतामा राख्नेछ ।

    साझेदारीबारे प्रतिक्रिया दिँदै कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यमका विकासका लागि प्रयत्नरत व्यवसाय तथा उद्यमीहरूलाई वित्तीय स्रोतसँगै आवश्यक ब्याबसायिक क्षमता विकासमा समेत बैंकले सहयोग गर्दै महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार यो सहकार्यले हरित तथा जलवायु–उत्थानशील नेपाल निर्माणमा योगदान पुर्‍याउँदै व्यवसायीहरुको वित्तीय पहुँचलाई दिगो बनाउनेछ । कुमारी बैंकको वित्तीय विशेषज्ञता र हेल्भेटास नेपालको उद्यम विकास तथा समावेशी मूल्य शृङ्खलासम्बन्धी अनुभवलाई एकीकृत गर्दै सम्भावनायुक्त हरित व्यवसायलाई रोजगारी सिर्जना, नवप्रवर्तन तथा स्थानीय आर्थिक विकासका दीर्घकालीन आधारका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    बैंकका अनुसार यस सहकार्यले वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृङ्खलामा संलग्न अन्य सरोकारवालाबीच थप प्रभावकारी सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ । वित्तीय पहुँच विस्तारसँगै उद्यमहरूले प्राप्त वित्तीय स्रोतलाई प्रभावकारी रूपमा परिचालन र व्यवस्थापन गर्न सक्ने क्षमता विकासमा समेत जोड दिइनेछ । यस एकीकृत दृष्टिकोणमार्फत समावेशी, दिगो तथा उत्थानशील उद्यम विकासलाई प्रोत्साहन गर्दै नेपालको हरित अर्थतन्त्रको विस्तारमा योगदान पर्‍याउने लक्ष्य राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar