टाटा कार्निभलमा पुरानो गाडी दिएर नयाँ ईभी किन्न सकिने

  • कालिका खवर
  • बुधबार, भदौ ३, २०८३
  • काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्नो पुरानो गाडी दिएर नयाँ टाटा पन्च ईभी वा टियागो ईभी खरिद गर्न सक्नेछन्।

    कम्पनीका अनुसार ग्राहकले पुरानो गाडीलाई डाउन पेमेन्टका रूपमा प्रयोग गर्न सक्नेछन्। पुरानो गाडीको आकर्षक मूल्यांकनसँगै कार्निभल अवधिमा नयाँ विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई विभिन्न सुविधा उपलब्ध गराइनेछ।

    कार्निभलमा टाटाका गाडी बुकिङ गर्ने ग्राहकले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडानलगायतका सुविधा पाउने कम्पनीले जनाएको छ।

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा पन्च ईभी र टियागो ईभी विशेष अफरसहित नेपाली बजारमा सार्वजनिक गरिएको थियो। पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

    पन्च ईभीमा ३२५ किलोमिटरसम्म रेन्ज

    नयाँ पन्च ईभी एक्टिभ ईभी प्लेटफर्ममा आधारित छ। यो ३२ किलोवाट-आवर र ४० किलोवाट-आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालका सडकमा गरिएको परीक्षणअनुसार पूर्ण चार्जमा यसले ३०० देखि ३२५ किलोमिटरसम्म दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ।

    पन्च ईभीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र फास्ट चार्जिङ सुविधा छन्। त्यस्तै, भ्वाइस-एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हरमन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता सुविधा पनि उपलब्ध छन्।

    टियागो ईभीमा पनि नयाँ फिचर

    दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन तथा विभिन्न आकर्षक रङ विकल्प उपलब्ध छन्। यसमा ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्यागलगायतका सुविधा दिइएको छ।

    सिप्रदी ट्रेडिङका अनुसार कार्निभलको मुख्य उद्देश्य पुरानो गाडीको उचित मूल्यांकन गर्दै ग्राहकलाई नयाँ विद्युतीय सवारीमा सहज रूपमा अपग्रेड हुने अवसर प्रदान गर्नु हो। यस योजनाले पुरानो गाडी बिक्री गर्ने झन्झट कम गर्नुका साथै नयाँ ईभी खरिदमा ग्राहकलाई थप सुविधा दिने कम्पनीको अपेक्षा छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar