निर्जीवन बीमा कम्पनीमा १ लाखभन्दा बढी दाबी फर्छ्योट हुन बाँकी

  • कालिका खवर
  • बुधबार, भदौ ३, २०८३
  • काठमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्रमा दाबी फर्छ्योटमा हुने ढिलाइ अझै चुनौतीका रूपमा देखिएको छ। दुर्घटना, सम्पत्ति क्षति तथा प्राकृतिक विपद्पछि परेका दाबीको मूल्याङ्कनमा ढिलाइ, जटिल कागजी प्रक्रिया र बीमक तथा सर्भेयरबीचको समन्वय अभावका कारण बीमितले समयमै भुक्तानी पाउन नसकेको गुनासो बढ्दै गएको छ।

    दाबी फर्छ्योटमा हुने ढिलाइले बीमा क्षेत्रप्रतिको जनविश्वासमा समेत असर पार्दै आएको छ। नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी प्रक्रियालाई पारदर्शी र छिटो बनाउन विभिन्न निर्देशन तथा मार्गदर्शन जारी गर्दै आए पनि बाँकी दाबीको संख्या भने घट्नुको सट्टा बढेको तथ्यांकले देखाएको छ।

    नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका १४ कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार असार मसान्तसम्म १ लाख ४ हजार ७४८ वटा दाबी फर्छ्योट हुन बाँकी छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा यस्तो संख्या ९७ हजार ५३८ थियो। एक वर्षमा बाँकी दाबी ७ हजार २१० वटाले बढेको, अर्थात् ७.३९ प्रतिशत वृद्धि भएको हो।

    शिखर इन्स्योरेन्समा सबैभन्दा धेरै बाँकी दाबी

    कम्पनीगत रूपमा हेर्दा सबैभन्दा धेरै फर्छ्योट हुन बाँकी दाबी शिखर इन्स्योरेन्समा रहेको छ। असार मसान्तसम्म कम्पनीमा १४ हजार ९९३ वटा दाबी प्रक्रियामा छन्। अघिल्लो वर्ष १२ हजार ५०७ वटा रहेकोमा एक वर्षमा १९.८८ प्रतिशत वृद्धि भएको हो।

    त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ११ हजार ६४८ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ११ हजार २५९ वटा दाबी फर्छ्योट हुन बाँकी छन्। सगरमाथा लुम्बिनीमा अघिल्लो वर्षको १२ हजार ५२३ को तुलनामा बाँकी दाबी ६.९९ प्रतिशतले घटेको छ भने सिद्धार्थ प्रिमियरमा अघिल्लो वर्ष ११ हजार ४९७ वटा दाबी बाँकी थिए।

    नेको इन्स्योरेन्समा १० हजार ९०६, हिमालयन एभरेस्ट इन्स्योरेन्समा ९ हजार ६४०, युनाइटेड अजोड इन्स्योरेन्समा ९ हजार ४९८ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ७ हजार ८९७ वटा दाबी फर्छ्योट हुन बाँकी छन्।

    त्यस्तै, एनएलजी इन्स्योरेन्समा ६ हजार ५६५, राष्ट्रिय बीमा कम्पनीमा ५ हजार ९६४ र नेपाल इन्स्योरेन्समा ५ हजार ८९८ वटा दाबी प्रक्रियामा छन्।

    नेपाल इन्स्योरेन्समा अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४ हजार ४८९ वटा बाँकी दाबी रहेकामा गत वर्ष ३१.३९ प्रतिशतले बढेको छ। प्रतिशतका आधारमा बाँकी दाबी बढ्ने कम्पनीमध्ये नेपाल इन्स्योरेन्स अगाडि देखिएको छ।

    सानिमा जिआईसी इन्स्योरेन्समा ५ हजार १२०, प्रभु इन्स्योरेन्समा १ हजार ९७०, नेसनल इन्स्योरेन्समा १ हजार ७५० र द ओरिएन्टल इन्स्योरेन्समा १ हजार ६४० वटा दाबी फर्छ्योट हुन बाँकी छन्।

    दाबी व्यवस्थापनमा डिजिटल प्रणाली आवश्यक

    बीमा कम्पनीहरूको आकार र वित्तीय क्षमता बढ्दै गए पनि दाबी व्यवस्थापन प्रणाली भने सोही अनुपातमा आधुनिक र प्रविधिमैत्री बन्न नसकेको देखिन्छ। विशेषगरी कम्पनीहरूबीचको मर्जरपछि व्यवस्थापकीय संरचना ठूलो बने पनि पुराना बक्यौता दाबी नयाँ प्रणालीमा समेत सर्दै जाँदा कम्पनीमाथि दायित्वको दबाब थपिएको छ।

    दाबी फर्छ्योट प्रक्रियालाई प्रभावकारी बनाउन सर्भेयर मूल्याङ्कन, कागजात प्रमाणीकरण र भुक्तानी प्रक्रियालाई डिजिटल तथा पारदर्शी बनाउनुपर्ने आवश्यकता देखिएको छ। साथै, नेपाल बीमा प्राधिकरणले दाबी फर्छ्योटका लागि स्पष्ट समयसीमा निर्धारण गरी त्यसको प्रभावकारी अनुगमन र कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ।

    समयमै दाबी भुक्तानी हुनु बीमितको अधिकारसँगै बीमा व्यवसायप्रतिको विश्वास कायम गर्ने महत्वपूर्ण आधार भएकाले बढ्दो बाँकी दाबीलाई घटाउनु निर्जीवन बीमा क्षेत्रका लागि तत्कालीन प्राथमिकताको विषय बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar