बीवाईडी र एनसेलबीच विशेष साझेदारी, अब नयाँ गाडीमै आईओटी सिम

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं । नेपालको विद्युतीय सवारी तथा दूरसञ्चार क्षेत्रमा नयाँ सहकार्य सुरु भएको छ। विद्युतीय सवारी निर्माता बीवाईडी र दूरसञ्चार सेवा प्रदायक एनसेलबीच भएको विशेष साझेदारीसँगै नेपालमा बिक्री हुने नयाँ बीवाईडी गाडीमा एनसेलको आईओटी सिम जडान भएर आउने भएको छ।

    काठमाडौंमा आयोजित कार्यक्रममा दुई कम्पनीबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। यो सहकार्यले नेपाली बजारमा कनेक्टेड कारको अवधारणालाई थप विस्तार गर्दै सवारी साधनलाई स्मार्ट, कनेक्टेड र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

    आईओटी सिममार्फत बीवाईडीका ग्राहकले गाडीको इन्फोटेनमेन्ट प्रणालीबाट विभिन्न अनलाइन सेवा प्रयोग गर्न सक्नेछन्। युट्युब, स्पोटिफाइ, काराओकेलगायतका मनोरञ्जनात्मक सुविधाका साथै बीवाईडीको एप इकोसिस्टम र नेभिगेसन प्रणालीलाई पनि कनेक्टिभिटीले सहयोग गर्नेछ।

    यसका लागि छुट्टै बाह्य उपकरण वा मोबाइल हटस्पटमा निर्भर हुनुपर्ने आवश्यकता कम हुने कम्पनीको भनाइ छ। एनसेलको मोबाइल नेटवर्कमार्फत गाडीलाई इन्टरनेटसँग जोडिने भएकाले यात्रा तथा दैनिक प्रयोगमा सहजता थपिने अपेक्षा गरिएको छ। यद्यपि नेटवर्क कभरेज, भौगोलिक अवस्था र गाडीको मोडलअनुसार सेवा अनुभव फरक हुन सक्नेछ।

    पुराना बीवाईडी गाडीधनीले पनि सुविधा पाउने

    सहकार्यअन्तर्गत नयाँ गाडी खरिद गर्ने ग्राहकसँगै यसअघि नै बीवाईडीका सवारी प्रयोग गरिरहेका ग्राहकले पनि आईओटी कनेक्टिभिटी सुविधा लिन सक्नेछन्। त्यसका लागि नेपालभर रहेका १३ वटा आधिकारिक सर्भिस सेन्टरमा गएर आफ्नो गाडीमा एनसेलको आईओटी सिम जडान गराउन सकिने व्यवस्था गरिएको छ।

    कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले साझेदारीले सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट र सुरक्षाको नयाँ आयाम थप्ने बताए। बाह्य डेटा वा मोबाइल हटस्पटमा निर्भर हुनुपर्ने अवस्थालाई कम गर्दै ग्राहकलाई सहज र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण हुने उनको भनाइ थियो।

    त्यस्तै, साइमेक्स इंक प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी प्राविधिक नवप्रवर्तनमा अग्रणी रहँदै आएको उल्लेख गर्दै एनसेलसँगको सहकार्यले बीवाईडी सवारीको प्रयोग तथा स्वामित्व अनुभवलाई थप आधुनिक बनाउने बताए।

    कनेक्टिभिटी प्लान, वैधता अवधि तथा शुल्क भने गाडीको मोडल, सफ्टवेयर संस्करण र आवश्यकताअनुसार फरक हुने बताइएको छ। बीवाईडी र एनसेलबीचको यो सहकार्यले नेपालमा विद्युतीय सवारीलाई केवल वातावरणमैत्री साधनका रूपमा मात्र नभई स्मार्ट र कनेक्टेड मोबिलिटीको हिस्साका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar