नाडा अटो शो २०२६ भदौ ९ देखि, २ लाख आगन्तुक भित्र्याउने लक्ष्य

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ।

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजना हुने ६ दिने प्रदर्शनी नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा **‘स्वर्ण उत्सव संस्करण’**का रूपमा भव्यताका साथ आयोजना गर्न लागिएको हो। एचपी लुब्रिकेन्ट्स मुख्य प्रायोजक रहेको प्रदर्शनीले तीव्र रूपमा विकसित भइरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, उत्पादन र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ।

    करिब ३ लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ ब्रान्डका दुईपांग्रे सवारी, १० वित्तीय तथा बीमा सेवा प्रदायक तथा ७० भन्दा बढी अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन्।

    यस वर्षको प्रदर्शनीमा जी–वान ह्युमनोइड रोबोट तथा गो–टु क्वाड्रुपेड रोबोटमार्फत भविष्यको यातायात प्रविधिको प्रत्यक्ष अनुभव लिन सकिनेछ। त्यस्तै, **‘मेड इन नेपाल/मेड फर नेपाल प्याभिलियन’**मार्फत नेपालमै उत्पादन तथा एसेम्बल हुने सवारी साधन, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट तथा अन्य कम्पोनेन्टहरूको प्रवर्द्धन गरिनेछ। विभिन्न ब्रान्डका नयाँ मोडलहरूको प्रोडक्ट लन्च तथा स्मार्ट मोबिलिटी, दिगो विकास र कनेक्टिभिटीसम्बन्धी छलफल तथा गोष्ठीसमेत आयोजना हुनेछन्।

    आगन्तुकको सहजताका लागि दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै जोन बनाइएको छ। प्रवेश टिकट खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिनेछ भने निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    प्रदर्शनीका लागि एचपी लुब्रिकेन्ट्स मुख्य प्रायोजक तथा शिखर इन्स्योरेन्स सह–प्रायोजक एवं बीमा साझेदारका रूपमा रहेका छन्। क्याम्पा, जीआई चार्जर, द प्लाजा, खल्ती बाइ आईएमई, पूर्ण वाटर, याङ्गो, हिटको, वर्ल्डलिङ्क, हिकभिजन सीसीटीभी नेपाल, अल्का हस्पिटल र द बेकरी क्याफेलगायत विभिन्न संस्थाहरू साझेदारका रूपमा आबद्ध छन्। कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालि. (जेम्स) ले गर्नेछ।

    आगन्तुकको सुरक्षालाई ध्यानमा राख्दै आपत्कालीन स्वास्थ्य टोली, सीसीटीभी निगरानी, अग्निनियन्त्रण प्रणाली तथा ह्विलचेयरमैत्री वातावरणको व्यवस्था गरिएको छ। पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनको अन्डरग्राउन्ड पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसर प्रयोग गरिनेछ।

    नाडाले अटोमोबाइलप्रेमी, उद्योगी–व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी भई नेपालको मोबिलिटी क्षेत्रमा भइरहेका नवीनतम प्रविधि र प्रवृत्तिको अनुभव गर्न आह्वान गरेको छ। ६ दिनसम्म सञ्चालन हुने नाडा अटो शो २०२६ मा करिब २ लाख आगन्तुकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar