नाइमा एक्स्पोको पाँचौँ दिन आर्कफक्स टी१ नेपालमा सार्वजनिक

  • कालिका खवर
  • शनिबार, साउन ३०, २०८३
  • काठमाडौं । केही दिनको प्रतीक्षापछि नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को पाँचौँ दिन सर्वाधिक प्रतीक्षा गरिएको विद्युतीय सवारीमध्ये एक आर्कफक्स टी१ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक भएको छ।

    प्रिमियम फेमिली क्रसओभर ईभीका रूपमा प्रस्तुत गरिएको टी१ मा सहरी सडक तथा विविध ड्राइभिङ अवस्थालाई लक्षित गर्दै इन्टेलिजेन्ट प्रविधि, आरामदायी क्याबिन र व्यावहारिक सुविधाको संयोजन गरिएको कम्पनीले जनाएको छ।

    टी१ को प्रमुख आकर्षणमध्ये अटोमेटिक पार्किङ असिस्टेन्स सिस्टम रहेको छ। यसले समानान्तर तथा ठाडो पार्किङ गर्न तथा पार्किङ क्षेत्रबाट सुरक्षित रूपमा बाहिर निस्कन सहयोग गर्छ। काठमाडौंजस्ता व्यस्त सहरका साँघुरा सडक तथा सीमित पार्किङ क्षेत्रमा यो सुविधा उपयोगी हुने देखिन्छ।

    गाडीमा ३६० डिग्री अराउन्ड भ्यू मोनिटर, न्यारो रोड असिस्टेन्स, रिभर्स पाथ ट्रेस तथा अगाडि–पछाडिका पार्किङ सेन्सर पनि उपलब्ध छन्। यी प्रविधिले भीडभाड तथा साँघुरा स्थानमा ड्राइभिङ गर्दा चालकलाई वरपरको अवस्था बुझ्न सहज बनाउनेछन्।

    आर्कफक्स टी१ मा ७० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ, जसले १७० एनएम टर्क उत्पादन गर्छ। ४२.३ किलोवाट आवर क्षमताको सीएएलबी लिथियम आइरन फस्फेट ब्याट्रीले एकपटक पूर्ण चार्जमा ३१० किलोमिटरसम्मको डब्लुएलटीपी रेन्ज दिने बताइएको छ। डीसी फास्ट चार्जरमार्फत ब्याट्री ३० देखि ८० प्रतिशतसम्म करिब २५ मिनेटमा चार्ज गर्न सकिन्छ।

    १८१ एमएम ग्राउन्ड क्लियरेन्स रहेको टी१ नेपालका स्पिड ब्रेकर तथा असमान सडकका लागि पनि उपयुक्त हुने अपेक्षा गरिएको छ। यसमा इको, स्पोर्ट, कम्फर्ट र पर्सनलाइज्ड गरी चारवटा ड्राइभिङ मोड उपलब्ध छन्।

    सुरक्षातर्फ टी१ मा लेभल–२ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) उपलब्ध छ। यसअन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक जाम असिस्ट, लेन डिपार्चर वार्निङ, फर्वार्ड कोलिजन वार्निङ तथा अटोमेटिक इमर्जेन्सी ब्रेकिङजस्ता सुविधा छन्। गाडीको संरचनाका महत्वपूर्ण भागमा १,५०० मेगापास्कलसम्मको उच्च क्षमतायुक्त स्टिल प्रयोग गरिएको जनाइएको छ।

    क्याबिनतर्फ टी१ मा २,७५० एमएम ह्विलबेस, १५.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, डुअल–जोन भ्वाइस रिकग्निसन तथा तातो र चिसो बनाउन मिल्ने अगाडिका सिट छन्। पछाडिका सिटलाई २८ डिग्रीसम्म ढल्काउन सकिन्छ। गाडीमा ३२ वटा स्टोरेज स्पेस, सातवटा मोबाइल होल्डर तथा पछाडिका सिट फोल्ड गर्दा १,३५२ लिटरसम्मको लगेज क्षमता उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    इन्टेलिजेन्ट पार्किङ, उन्नत सुरक्षा प्रविधि, प्रिमियम आराम र दैनिक प्रयोगका व्यावहारिक सुविधाको संयोजनसहित आर्कफक्स टी१ नेपाली बजारमा सहरी पेशाकर्मी तथा आधुनिक परिवारलाई लक्षित नयाँ विद्युतीय विकल्पका रूपमा सार्वजनिक भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar