जेनजी आन्दोलनको असर: १४ निर्जीवन बीमा कम्पनीको नाफा ३९ प्रतिशतले घट्यो

  • कालिका खवर
  • आइतवार, साउन ३१, २०८३
  • काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्था कमजोर देखिएको छ। गत भदौमा देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा भएको व्यापक तोडफोड, आगजनी तथा भौतिक क्षतिका कारण ठूलो मात्रामा बीमा दाबी परेपछि निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको हो।

    प्राकृतिक विपत्ति र राजनीतिक आन्दोलनको दोहोरो प्रभावमा परेका १४ निर्जीवन बीमा कम्पनीको समग्र खुद नाफा समीक्षा अवधिमा ३९.२९ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूले कुल ४ अर्ब ५२ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। गत आर्थिक वर्षमा भने यस्तो नाफा घटेर २ अर्ब ७९ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ।

    कम्पनीगत अवस्था हेर्दा प्रभु इन्स्योरेन्सबाहेक सबै कम्पनीको खुद नाफा घटेको छ। प्रभु इन्स्योरेन्सले भने अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा ११.७१ प्रतिशतले बढाएर २६ करोड ६४ लाख रुपैयाँ पुर्‍याएको छ।

    यता गत वर्ष घाटामा रहेको द ओरियन्टल इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्था सुधार गर्दै ४९ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ। नेसनल इन्स्योरेन्स भने अझै १३ करोड १० लाख रुपैयाँ घाटामा रहेको छ।

    ठूलो मात्रामा परेको बीमा दाबीका कारण बजारका ठूला बीमा कम्पनीहरूको नाफामा समेत तीव्र गिरावट आएको छ। सबैभन्दा ठूलो असर आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा परेको छ। कम्पनीको खुद नाफा ९८.५९ प्रतिशतले घटेर ४० लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ।

    त्यस्तै, अघिल्लो आर्थिक वर्षमा ४५ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको शिखर इन्स्योरेन्सको नाफा यस वर्ष ७१.२१ प्रतिशतले घटेर १३ करोड रुपैयाँमा झरेको छ।

    कुल नाफाको आकारमा अगाडि रहेको नेपाल इन्स्योरेन्सको नाफा पनि ५८.६९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ।

    यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ३२.७४ प्रतिशतले घटेर ३७ करोड ५४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको १९.४५ प्रतिशतले घटेर ३४ करोड ४४ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३६.५२ प्रतिशतले घटेर ३३ करोड ७५ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५६.७५ प्रतिशतले घटेर ३२ करोड ६५ लाख रुपैयाँमा झरेको छ।

    त्यस्तै, नेको इन्स्योरेन्सको नाफा ५०.१२ प्रतिशतले घटेर २८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। सानिमा जीआईसी इन्स्योरेन्सको नाफा ६१.३८ प्रतिशतले घटेर १३ करोड रुपैयाँ कायम भएको छ।

    युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख रुपैयाँ तथा एनएलजी इन्स्योरेन्सको नाफा ६२.३० प्रतिशतले घटेर ५ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ।

    जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूमा अस्वाभाविक रूपमा ठूलो दाबी परेको थियो। त्यससँगै प्राकृतिक विपत्तिबाट उत्पन्न दाबीको दबाबसमेत कायम रहँदा कम्पनीहरूको दाबी भुक्तानी तथा अन्य खर्च बढेको देखिन्छ।

    बीमा क्षेत्रका लागि यस्तो अवस्थाले जोखिम व्यवस्थापन, पर्याप्त प्राविधिक रिजर्भ तथा पुनर्बीमा व्यवस्थापनको महत्व थप बढाएको छ। आगामी दिनमा राजनीतिक तथा प्राकृतिक जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै कम्पनीहरूले आफ्नो वित्तीय स्थायित्व कायम राख्नुपर्ने चुनौती देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar