नाइमा एक्स्पोमा डोङफेंगका दुई विद्युतीय बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल उत्पादक डोङफेंगद्वारा उत्पादित विद्युतीय बस नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा अटो एक्स्पो २०२६मा कम्पनीले दुईवटा विद्युतीय बस सार्वजनिक गरेको हो।

    कम्पनीले सिटी ईभी बस र लङ रेन्ज ईभी बस सार्वजनिक गरेको छ। सिटी ईभीको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ र लङ रेन्ज ईभीको मूल्य १ करोड २४ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

    नाइमा अटो एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकलाई तोकिएको मूल्यमा ५ लाख रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार यी बसहरूको मूल्य नेपालमा उपलब्ध अन्य प्रतिस्पर्धी विद्युतीय बसको तुलनामा प्रतिस्पर्धी रहेको छ।

    ३५० किलोमिटरसम्म रेन्ज

    सार्वजनिक गरिएका बसमध्ये सिटी मोडलले एकपटक पूर्ण चार्जमा एनईडीसी मापदण्डअनुसार २५० किलोमिटर र लङ रेन्ज मोडलले ३५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

    बसहरूमा डीसी फास्ट चार्जिङ प्रविधि उपलब्ध छ। यसबाट ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ४५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

    हाल डोङफेंगका विद्युतीय बसहरू २८ र ३० सिट क्षमतामा उपलब्ध छन्। आगामी दिनमा ४० र ५२ सिट क्षमताका बस पनि नेपाल ल्याउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।

    १०० भन्दा बढी देशमा डोङफेंगका उत्पादन

    डोङफेंग चीनका ठूला तथा प्रतिष्ठित अटोमोबाइल उत्पादकमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको डोङफेंगले यात्रुबाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी तथा विभिन्न अटोमोबाइल पार्टपुर्जा उत्पादन गर्दै आएको छ।

    पाँच दशकभन्दा लामो अनुभव बोकेको कम्पनीले गुणस्तर, सुरक्षा, विश्वसनीयता र प्रविधिका कारण अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाएको कम्पनीको भनाइ छ। डोङफेंगका उत्पादन एसिया, युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण अमेरिकालगायत विभिन्न क्षेत्रमा बिक्री हुँदै आएका छन्। कम्पनीका उत्पादन १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको जनाइएको छ।

    नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू बिक्री हुँदै आएका छन्।

    ठूला ईभी बसमा केन्द्रित

    हिमालयन अर्गनाइजेशनअन्तर्गतका कम्पनीहरूले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआईसी ग्रुपअन्तर्गतको म्याक्ससका सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा काम गर्दै आएका छन्।

    नेपालमा ठूला विद्युतीय बसलाई प्राथमिकता दिने सरकारी नीति तथा ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै डोङफेंगका विद्युतीय बस नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ।

    कम्पनीले निकट भविष्यमा डोङफेंगका ठूला विद्युतीय स्कुल बससमेत नेपाली बजारमा ल्याउने तयारी गरेको छ।

    यसैगरी, विद्युतीय बसको बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने उद्देश्यले कम्पनीले नेपालका प्रमुख सहरहरूमा डिलरशिपका लागि आवेदन आह्वानसमेत गरिसकेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar