नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता बैद्यज अर्गनाइजेशनले २५० सीसी सेग्मेन्टको यो मोटरसाइकल सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको हो।

    मंगलबारदेखि काठमाडौंमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर मोर्बिडेली टी २५० एक्सलाई सार्वजनिक तथा प्रदर्शनीमा राखिएको हो।

    कम्पनीले टी २५० एक्सको मूल्य ६ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ। यो नेपाली बजारमा उपलब्ध मोर्बिडेलीको सबैभन्दा किफायती मोटरसाइकल हो। नयाँ मोडलको आगमनसँगै नेपाली एड्भेन्चर मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने कम्पनीको अपेक्षा छ।

    यसअघि नेपाली बजारमा मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टअन्तर्गत टी ३५२ एक्स, टी ५०२ एक्स र टी १००२ भीएक्स सुपर एड्भेन्चर बिक्री हुँदै आएका छन्। टी २५० एक्सलाई कम्पनीले सोही लाइनअपमा इन्ट्रि–लेभल एड्भेन्चर मोटरसाइकलका रूपमा प्रस्तुत गरेको हो।

    २४९ सीसी इन्जिन, २२.४ एचपी पावर

    टी २५० एक्समा २४९.४ सीसी सिंगल–सिलिन्डर, फोर–भल्भ, एयर–कुल्ड ईएफआई इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ७ हजार ५ सय आरपीएममा २२.४ हर्सपावर तथा ६ हजार आरपीएममा २२.३ एनएम टर्क उत्पादन गर्छ।

    मोटरसाइकलमा ६–स्पिड गियरबक्स दिइएको छ भने यसको अधिकतम गति करिब ११५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ।

    १७७ एमएम फ्रन्ट ट्राभल

    एड्भेन्चर राइडिङलाई ध्यानमा राखेर टी २५० एक्समा १७७ एमएम फ्रन्ट र ५५ एमएम रियर ट्राभल दिइएको छ। यसमा लङ–ट्राभल यूएसडी फ्रन्ट फोर्क तथा रियर प्रिलोड एड्जस्टेबल मोनोशक रहेको छ।

    त्यसैगरी, मोटरसाइकलमा स्पोक ह्वील, डिस्क ब्रेक तथा डुअल–पर्पस टायर प्रयोग गरिएको छ। यसले सडकसँगै अफरोड यात्रामा पनि स्थिरता र नियन्त्रण कायम राख्न सहयोग गर्ने कम्पनीको दाबी छ।

    २२० एमएम ग्राउण्ड क्लियरेन्स

    १५४ किलोग्राम तौल रहेको टी २५० एक्समा २२० एमएम ग्राउण्ड क्लियरेन्स, ८२० एमएम सिट हाइट र ११.७ लिटर क्षमताको फ्युल ट्यांक रहेको छ।

    उच्च ग्राउण्ड क्लियरेन्सका कारण नेपाली सडक तथा अफरोड यात्राका लागि मोटरसाइकल उपयुक्त हुने कम्पनीको विश्वास छ।

    एड्भेन्चर तथा टुरिङमा रुचि राख्ने मोटरसाइकल पारखीलाई लक्षित गरिएको टी २५० एक्सले आकर्षक डिजाइन, पर्याप्त पावर तथा एड्भेन्चर–केन्द्रित फिचरसहित नेपाली बजारमा प्रतिस्पर्धा गर्ने देखिन्छ।

    बैद्यज अर्गनाइजेशनका अनुसार टी २५० एक्सले किफायती मूल्यमा एड्भेन्चर मोटरसाइकल खोज्ने ग्राहकलाई लक्षित गरेको छ। नयाँ मोडलमार्फत मोर्बिडेलीको एड्भेन्चर लाइनअप विस्तार गर्दै नेपाली युवा तथा एड्भेन्चर राइडरमाझ ब्रान्डको पहुँच बढाउने कम्पनीको लक्ष्य रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar