नेपाली बजारमा लीपमोटर बी ०३ एक्स सार्वजनिक, सुरुवाती मूल्य ४४.९९ लाख रुपैयाँ

  • कालिका खवर
  • शुक्रबार, साउन २२, २०८३
  • काठमाडौं । नेपाली बजारमा लीपमोटरको नयाँ विद्युतीय एसयूभी ‘बी ०३ एक्स’ सार्वजनिक भएको छ। नेपालका लागि लीपमोटरको आधिकारिक वितरक साँग्रिला मोटर्सले शुक्रबारदेखि बी ०३ एक्सको बिक्री औपचारिक रूपमा सुरु गरेको हो।

    कम्पनीले बी ०३ एक्सको आधिकारिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। साथै, पहिलो १०० ग्राहकलाई विशेष अफरस्वरूप ४४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने जनाएको छ।

    चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री भइरहेको यो मोडल नेपालमा बी ०३ एक्स नाममा ल्याइएको हो। यसमा १४५ किलोवाट क्षमताको विद्युतीय मोटर र ५३ किलोवाट-आवर ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले सीएलटीसी मापदण्डअनुसार ५०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

    डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६ मिनेट मात्र लाग्ने कम्पनीको दाबी छ। साथै, यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १०.७ किलोवाट-आवर रहेको बताइएको छ।

    बी ०३ एक्सलाई आधुनिक, एरोडाइनामिक र व्यवहारिक डिजाइनमा तयार गरिएको छ। यसमा बन्द फ्रन्ट ग्रिल, स्लिम एलईडी हेडलाइट, स्माइल-स्टाइल लाइट, फ्लेयर गरिएको ह्वील आर्च, कालो क्ल्याडिङ, सेमी-हिडन डोर ह्यान्डल तथा फ्लोटिङ रूफ डिजाइन समावेश गरिएको छ। पछाडिको भागमा आकर्षक एलईडी टेललाइट जडान गरिएको छ।

    यसमा ५१० लिटर क्षमताको बुटस्पेस, फराकिलो क्याबिन र प्रिमियम इन्टेरियर उपलब्ध छ। गाडीको लम्बाइ ४,२७० एमएम, चौडाइ १,८१० एमएम, उचाइ १,६३५ एमएम तथा २,६०५ एमएम ह्वीलबेस रहेको छ। साथै, १८ इन्चको एलोय ह्वील, अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बीम सस्पेन्सन जडान गरिएको छ।

    इन्टेरियरतर्फ टु-स्पोक मल्टि-फङ्सन स्टेयरिङ ह्वील, ८.८८ इन्चको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल टचस्क्रिन उपलब्ध छ। इन्फोटेनमेन्ट प्रणाली क्वालकम ८२९५ ककपिट चिपबाट सञ्चालित रहेको छ भने ‘क्वेन’ एआई असिस्टेन्ट पनि समावेश गरिएको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar