नाइमा मोबिलिटी एक्स्पो २०२६ मा महिन्द्राको नयाँ फ्ल्यागसिप ईभी ‘एक्स ईभी ९एस’ डेब्यु हुँदै, ६७९ किमीसम्म रेन्ज

  • कालिका खवर
  • मङ्लबार, साउन १९, २०८३
  • काठमाडौं। नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (ईभी) प्रति आकर्षण तीव्र रूपमा बढिरहेका बेला भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले आफ्नो नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयुभी ‘महिन्द्रा एक्स ईभी ९एस’ (Mahindra XEV 9S) नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। यो गाडी नेपालमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक डेब्यु गर्ने कम्पनीले जनाएको छ।

    महिन्द्राको इलेक्ट्रिक लाइनअपमा यसअघि सार्वजनिक भएका बीई ६ र एक्स ईभी ९ई पछि कम्पनीले आफ्नो सबैभन्दा ठूलो र प्रिमियम इलेक्ट्रिक एसयुभीका रूपमा एक्स ईभी ९एस ल्याउन लागेको हो। यो महिन्द्राको पहिलो थ्री–रो, सेभेन–सिटर डेडिकेटेड इलेक्ट्रिक एसयुभी हो, जसले ठूलो परिवारलाई लक्षित गर्दै आरामदायी यात्रा अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

    डिजाइनका हिसाबले एक्स ईभी ९एस ले महिन्द्राको लोकप्रिय एक्सयूभी ७०० को झल्को दिन्छ। गाडीमा क्लोज्ड–अफ फ्रन्ट ग्रिल, फुल–विड्थ एलईडी लाइट बार, भर्टिकली स्ट्याक गरिएको एलईडी हेडल्याम्प, फ्लस–फिटिङ डोर ह्यान्डल, एरोडाइनामिक एलोय ह्विल तथा एल–आकारका एलईडी टेलल्याम्प जस्ता आधुनिक डिजाइन तत्व समावेश गरिएको छ।

    २,७६२ एमएमको ह्विलबेस र २०५ एमएमको ग्राउन्ड क्लियरेन्सले नेपाली सडक अवस्थालाई ध्यानमा राख्दै सहज ड्राइभिङ अनुभव दिने अपेक्षा गरिएको छ। सामान राख्नका लागि पछाडि ५२७ लिटरको बुट स्पेस र अगाडि १५० लिटरको फ्रन्क उपलब्ध गराइएको छ।

    यो एसयुभी ५९, ७० र ७९ किलोवाट–आवर क्षमताका तीनवटा ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। विभिन्न भेरियन्टमा २२८ देखि २८२ हर्सपावर सम्मको शक्ति तथा ३८० एनएम टर्क उपलब्ध हुनेछ। कम्पनीका अनुसार यसको एआरएआई प्रमाणित रेन्ज ५२१ किलोमिटरदेखि ६७९ किलोमिटरसम्म रहेको छ।

    पर्फर्मेन्सतर्फ एक्स ईभी ९एस ले ० देखि १०० किमी प्रतिघण्टाको गति ७ देखि ७.९ सेकेन्डमा हासिल गर्न सक्छ भने यसको अधिकतम गति २०२ किमी प्रतिघण्टा रहेको छ। साथै, १७५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्टका कारण ब्याट्रीलाई छोटो समयमै चार्ज गर्न सकिने सुविधा दिइएको छ।

    गाडीको इन्टेरियर पनि प्रिमियम सुविधाले भरिएको छ। ड्यासबोर्डमा ट्रिपल–स्क्रिन सेटअप राखिएको छ, जसमा डिजिटल ड्राइभर डिस्प्ले, मुख्य इन्फोटेनमेन्ट स्क्रिन र अगाडिको यात्रुका लागि छुट्टै डिस्प्ले समावेश छ। पछाडिका यात्रुका लागि पनि मनोरञ्जन स्क्रिनको व्यवस्था गरिएको छ।

    यसमा १६ स्पिकरयुक्त हार्मन कार्डन अडियो सिस्टम, ठूलो प्यानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, बोस मोड, एम्बियन्ट लाइटिङ, पावर टेलगेट, चारवटा ड्राइभिङ मोड (एभ्रीडे, रेस, रेन्ज र स्नो) तथा फाइभ–लेभल रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जस्ता प्रिमियम फिचरहरू समावेश छन्।

    सुरक्षाको पक्षमा एक्स ईभी ९एस मा ७ वटा एयरब्याग, लेभल–२+ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), अटोपार्क असिस्ट, चालकको अवस्था निगरानी गर्ने ड्राइभर मोनिटरिङ सिस्टम तथा सिक्योर ३६० प्रो प्रणाली उपलब्ध गराइएको छ। यसले गाडीको लाइभ क्यामेरा फिड हेर्न र टु–वे कम्युनिकेसन गर्न सक्ने सुविधा पनि प्रदान गर्छ।

    नेपाली बजारमा यसको आधिकारिक मूल्य नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ। भारतमा भने एक्स ईभी ९एस को सुरुवाती एक्स–शोरूम मूल्य १९.९५ लाख भारतीय रुपैयाँबाट सुरु भई टप भेरियन्टको मूल्य २९.४५ लाख भारतीय रुपैयाँसम्म रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar