नेपाल आइपुग्यो लिपमोटर बी–१०: ५०५ किमि रेन्जसहितको प्रिमियम इलेक्ट्रिक एसयूभी छिट्टै सार्वजनिक हुँदै

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ प्रतिस्पर्धी थपिएको छ। अत्याधुनिक प्रविधि र प्रिमियम डिजाइनयुक्त लिपमोटर बी–१० आधिकारिक रूपमा नेपाल आइपुगेको छ।

    नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बी–१० लाई छिट्टै विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। कम्पनीका अनुसार सार्वजनिक कार्यक्रमपछि यस एसयूभीको आधिकारिक बुकिङ पनि खुला गरिनेछ।

    ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ अवधारणामा आधारित लिपमोटर बी–१० आधुनिक डिजाइन, स्मार्ट प्रविधि र दैनिक प्रयोगलाई केन्द्रमा राखेर विकास गरिएको इलेक्ट्रिक एसयूभी हो। कम्पनीले यसलाई नेपाली सडक र ग्राहकको आवश्यकता अनुरूप उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरेको छ।

    लिपमोटर बी–१० मा १४५ किलोवाट क्षमताको विद्युतीय मोटर र ५३ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्याक जडान गरिएको छ। यसले एकपटकको पूर्ण चार्जमा ५०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

    गाडीमा ५१० लिटर क्षमताको बुट स्पेस, फराकिलो केबिन तथा प्रिमियम इन्टेरियर उपलब्ध छ। यात्रुहरूको आराम र उपयोगितालाई ध्यानमा राख्दै यसको डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ।

    सुरक्षाका हिसाबले लिपमोटर बी–१० मा एडास (ADAS) लेभल–२ प्रविधि समावेश गरिएको छ। यसले सुरक्षित, सहज र बुद्धिमत्तायुक्त ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ।

    लिपमोटर विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिसको रणनीतिक सहकार्य प्राप्त ब्रान्ड हो। स्टेलान्टिसअन्तर्गत मासेराटी, जिप, प्युजो लगायत १४ प्रमुख अटोमोबाइल ब्रान्ड रहेका छन्, जसले लिपमोटरको अन्तर्राष्ट्रिय विश्वसनीयतालाई थप बल पुर्‍याएको छ।

    कम्पनीका अनुसार चीनको अग्रणी नयाँ ऊर्जा सवारीसाधन (NEV) ब्रान्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ। जुलाई महिनामा मात्रै एक लाखभन्दा बढी सवारीसाधन बिक्री भएको कम्पनीले जनाएको छ।

    हाल लिपमोटरको ४० भन्दा बढी देशमा १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा छन्। यही अन्तर्राष्ट्रिय अनुभव र सेवा सञ्जाललाई आधार बनाउँदै सांग्रिला मोटर्सले नेपाली ग्राहकलाई विश्वस्तरको बिक्रीपछिको सेवा उपलब्ध गराउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar