महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन्। यसअघि आठ वटा समितिले पूर्णता पाइसकेकोमा पछिल्लो विस्तारसँगै महासंघका थप तीन समितिले पूर्णता पाएका हुन्। महासंघअन्तर्गत हाल विभिन्न २५ वटा विषयगत समिति रहेका छन्।

    महासंघका केन्द्रीय सदस्य हेमन्त गोल्छाको सभापतित्वमा बैंक, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको सभापतित्वमा मेला समिति तथा संघर्ष विष्टको सभापतित्वमा पर्यटन तथा हवाई यातायात समिति विस्तार गरिएको हो। महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा तीनै समितिका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको थियो।

    कार्यक्रममा महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताउनुभयो। समितिहरूले आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या तथा नीतिगत विषयमा गहन अध्ययन गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    उहाँले समितिहरूको सक्रियताले निजी क्षेत्रको सशक्तीकरण र मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै निजी क्षेत्रका साझा सवालमा महासंघको संस्थागत धारणा निर्माणमा समितिहरूको भूमिका निर्णायक हुने बताउनुभयो।

    महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आधार भएको बताउँदै सम्बन्धित क्षेत्रका व्यवसायी तथा उद्यमीका समस्या पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो। उहाँले तथ्यमा आधारित सुझाव तथा नीतिगत प्रस्ताव तयार गर्न पनि समितिहरूलाई आग्रह गर्नुभयो।

    महासंघका कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको सक्रियताले महासंघको संस्थागत क्षमता अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच समन्वय कायम गर्न समितिहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो।

    नवनियुक्त बैंक, वित्तीय तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ तथा वित्तीय क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन तथा निजी क्षेत्रमैत्री नीति निर्माणका लागि समिति सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वित्तीय संस्थासँगको समन्वय बढाएर लगानी र व्यवसाय विस्तारलाई प्राथमिकतामा राखिने बताउनुभयो।

    मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ समिति अघि बढ्ने बताउनुभयो। उहाँले स्वदेशी उत्पादनको प्रवर्द्धन, बजार विस्तार तथा व्यवसायीबीच सहकार्य अभिवृद्धिलाई प्राथमिकता दिने धारणा राख्नुभयो।

    पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायातको सहजता, गुणस्तरीय पर्यटक आकर्षण तथा निजी क्षेत्रको लगानी सुरक्षाका लागि समिति सक्रिय रहने बताउनुभयो। उहाँले सरकारसँगको सहकार्यमा पर्यटन पूर्वाधार विकास र नीतिगत सुधारका लागि निरन्तर पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    महासंघले विषयगत समितिहरूलाई निजी क्षेत्रका समस्या तथा सम्भावनाको पहिचान, नीतिगत सुझाव तयार गर्ने, सरकारसँग संवाद र सहकार्य बढाउने तथा महासंघको संस्थागत धारणा निर्माणमा योगदान पुर्‍याउने महत्वपूर्ण संयन्त्रका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar