कुमारी बैंकको मोबाइल बैंकिङ एपमै अब अन्तर्राष्ट्रिय eSIM र IDP सेवा, निम्बजसँग सहकार्य

  • कालिका खवर
  • बुधबार, साउन १३, २०८३
  • काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (Nimbuzz) सँग सहकार्य सम्झौता गरेको छ। यस सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय eSIM तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको बैंकले जनाएको छ।

    सम्झौतापछि कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय eSIM डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) का लागि आवेदन दिन सक्नेछन्। विदेश यात्रा गर्ने, उच्च शिक्षाका लागि विदेश जाने, वैदेशिक रोजगारीमा रहेका तथा व्यवसायिक प्रयोजनका लागि नियमित विदेश आवतजावत गर्ने नेपालीहरूका लागि यो सेवा विशेष रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ।

    बैंकका अनुसार अन्तर्राष्ट्रिय यात्राका क्रममा भरपर्दो इन्टरनेट सेवा र आवश्यक यात्रा कागजातको सहज व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुने भएकाले eSIM सेवाले विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्नुपर्ने वा सिम परिवर्तन गर्नुपर्ने झन्झट हटाउनेछ। त्यस्तै, IDP सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ।

    यस सेवाको अर्को विशेषता भनेको ग्राहकहरूले eSIM तथा IDP सेवाको शुल्क कुमारी बैंक मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँ (NPR) मै भुक्तानी गर्न सक्ने सुविधा हो। यसले विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता कम गर्नुका साथै सम्पूर्ण प्रक्रिया सुरक्षित, सहज र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ।

    विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभरका २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्र मार्फत लाखौं ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

    बैंकले प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै डिजिटल रूपान्तरणलाई निरन्तर अघि बढाइरहेको उल्लेख गर्दै यस सहकार्यले ग्रामीण, अर्धशहरी तथा शहरी क्षेत्रका ग्राहकलाई समेत अन्तर्राष्ट्रियस्तरका डिजिटल सेवामा सहज पहुँच दिलाउने विश्वास व्यक्त गरेको छ। साथै विदेश यात्रा, अध्ययन, रोजगारी तथा व्यवसायसँग सम्बन्धित आवश्यक सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराएर ग्राहक अनुभवलाई थप सहज र प्रभावकारी बनाउने लक्ष्य रहेको बैंकको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar