नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

  • कालिका खवर
  • शुक्रबार, साउन ८, २०८३
  • काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ सेवा सार्वजनिक गरेको छ। यससँगै नागरिक एप प्रयोगकर्ताले बैंकमा व्यक्तिगत बचत खाता खोल्ने प्रक्रिया थप सहज र छरितो हुने भएको छ।

    बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले https://nagarik.gibl.com.np मार्फत क्यूआर कोड प्राप्त गरी स्क्यान गरेर ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्रधारी नागरिकले नागरिक एपमार्फत सहज रूपमा खाता खोल्न सक्ने व्यवस्था गरिएको हो।

    यस सेवाका लागि बैंकले ग्राहकको पूर्व सहमतिमा नागरिक एपबाट आवश्यक व्यक्तिगत विवरण सुरक्षित रूपमा प्राप्त गर्नेछ। यसले विवरण पुनः भर्नुपर्ने झन्झट हटाउनुका साथै व्यक्तिगत गोपनीयता र सूचनाको सुरक्षा सुनिश्चित गर्ने बैंकको दाबी छ।

    नागरिक एपमार्फत खोलिएको खाता सञ्चालन गर्न भने ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा उपस्थित भई वा भिडियो केवाईसी (KYC) प्रक्रियामार्फत प्रमाणीकरण गर्नुपर्नेछ।

    बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने रणनीतिअनुसार यो सुविधा सञ्चालनमा ल्याएको जनाएको छ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई अझ सहज, पारदर्शी र प्रविधिमैत्री बनाउँदै ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    ग्लोबल आइएमई बैंक आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको बैंक हो। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरिसकेको छ। साथै ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ (२०२२, २०२४ र २०२५), ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित अवार्डसमेत हासिल गरेको छ।

    हाल ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

    बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar