नेपालमा सार्वजनिक भयो प्रिमियम इलेक्ट्रिक पिकअप MAXUS eTERRON 9 Comfort, सुरुवाती मूल्य ८८ लाख रुपैयाँ

  • कालिका खवर
  • बिहिबार, साउन ७, २०८३
  • काठमाडौं । नेपालका लागि MAXUS सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रालिले प्रिमियम इलेक्ट्रिक फोर-ह्विल ड्राइभ पिकअप MAXUS eTERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले पहिलो ५० जना ग्राहकका लागि यसको विशेष सुरुवाती मूल्य रु. ८८ लाख निर्धारण गरेको जनाएको छ।

    कम्पनीका अनुसार शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा तथा व्यावहारिक प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको eTERRON 9 Comfort दैनिक आवागमनदेखि लामो दूरीको यात्रा, आउटडोर एडभेन्चर र व्यावसायिक प्रयोजनका लागि उपयुक्त पिकअप हो।

    यसमा १०२.२ kWh क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जुन कम्पनीका अनुसार नेपालमा उपलब्ध पिकअप सेग्मेन्टकै सबैभन्दा ठूलो क्षमताको ब्याट्री हो। एकपटक पूर्ण चार्ज गर्दा NEDC मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने यस गाडीले ११५ kW DC फास्ट चार्जिङ सपोर्ट गर्छ। फास्ट चार्जरमार्फत ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ४२ मिनेटमै चार्ज गर्न सकिन्छ।

    गाडीमा अगाडि १२५ kW र पछाडि २०० kW क्षमताका दुईवटा इलेक्ट्रिक मोटर जडान गरिएका छन्, जसले ७०० Nm टर्क उत्पादन गर्छ। यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ५.८ सेकेन्डमा लिन सक्छ भने अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ।

    हिमालय मोट्रक्सका प्रतिनिधिका अनुसार MAXUS eTERRON 9 Comfort ले लामो इलेक्ट्रिक रेन्ज, शक्तिशाली फोर-ह्विल ड्राइभ प्रणाली, उच्च हिमाली क्षेत्र, हिलो तथा ढुंगे सडकमा सहज रूपमा चलाउन मिल्ने विभिन्न ड्राइभिङ मोड, उच्च सुरक्षा र आरामदायी यात्रा अनुभव एकैसाथ उपलब्ध गराउँछ।

    व्यावसायिक प्रयोगलाई समेत ध्यानमा राखेर डिजाइन गरिएको यस पिकअपले १,०५० केजीसम्म पेलोड बोक्न सक्ने क्षमता राख्छ भने ब्रेकसहित ३,५०० केजीसम्म टोइङ क्षमता उपलब्ध छ। यसको कार्गो बक्सको आकार १,५६९ मिमि × १,५०० मिमि × ५३५ मिमि रहेको छ।

    गाडीमा विभिन्न सडक तथा भू-भागका लागि All-Terrain System (ATS) उपलब्ध छ। यसले ५४५ मिमिसम्म गहिरो पानी पार गर्न सक्ने क्षमता राख्छ। साथै २९ डिग्री एप्रोच एंगल र २५ डिग्री डिपार्चर एंगल, डबल विशबोन फ्रन्ट सस्पेन्सन तथा मल्टी-लिंक इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले नेपालको विविध सडक अवस्थाका लागि थप स्थिरता र आराम प्रदान गर्ने कम्पनीको दाबी छ।

    पाँच यात्रु क्षमताको यस पिकअपमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन सहित आधुनिक तथा फराकिलो क्याबिन उपलब्ध छ।

    गाडीमा Apple CarPlay, Android Auto, अटोमेटिक एयर कन्डिसनिङ, ६-तर्फ समायोजन गर्न मिल्ने इलेक्ट्रिक ड्राइभर सिट, माइक्रोफाइबर लेदर स्टेयरिङ, पछाडिका यात्रुका लागि एसी भेन्ट, USB तथा Type-C चार्जिङ पोर्ट, की-लेस इन्ट्री तथा स्टार्ट, अटोमेटिक हेडलाइट र वाइपर, Vehicle-to-Load (V2L) सुविधा तथा वन-टच पावर विन्डोज जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्।

    सुरक्षाको दृष्टिले पनि eTERRON 9 Comfort ले Euro NCAP को फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो उपलब्धिले यात्रु सुरक्षाका लागि प्रयोग गरिएका आधुनिक प्रविधि र मजबुत संरचनाको पुष्टि गर्छ।

    बिक्रीपछिको सेवाका लागि कम्पनीले नेपालका ६ प्रमुख सहरमा सर्भिस आउटलेट सञ्चालनमा रहेको जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar