प्रोटोनको दोस्रो विद्युतीय कार ‘ई.मास ५’ सोमबार नेपालमा सार्वजनिक हुँदै, ३० लाखभन्दा कम मूल्यमा प्रिमियम फिचर

  • कालिका खवर
  • शुक्रबार, साउन १, २०८३
  • काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोन ले आफ्नो दोस्रो विद्युतीय मोडेल ‘ई.मास ५’ आजदेखि नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स ले सोमबार आयोजित विशेष कार्यक्रममा ई.मास ५ का प्राइम र प्रिमियम गरी दुई भेरियन्ट सार्वजनिक गर्न लागेको हो।

    कम्पनीले सहरी यात्रालाई लक्षित गर्दै ल्याएको यो कम्प्याक्ट विद्युतीय ह्याचब्याकले नेपालमा सस्तो मूल्य वर्गको ईभी बजारमा प्रतिस्पर्धा थप चर्काउने अपेक्षा गरिएको छ। यसअघि कम्पनीले ई.मास ७ विद्युतीय एसयूभी बिक्री गर्दै आएकोमा अब ई.मास ५ सार्वजनिक भएसँगै ह्याचब्याक सेग्मेन्टमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने भएको छ।

    मलेसियामा सन् २०२५ को अन्त्यतिर सार्वजनिक भएको ई.मास ५ छोटो समयमै लोकप्रिय बन्दै सन् २०२६ मा त्यहाँका सर्वाधिक बिक्री हुने विद्युतीय सवारीमध्ये एक बन्न सफल भएको कम्पनीको दाबी छ। सहरी यात्रालाई सहज, किफायती र व्यावहारिक बनाउने उद्देश्यले विकास गरिएको यो मोडेलले नेपालमा पनि सकारात्मक प्रतिक्रिया पाउने विश्वास कम्पनीको छ।

    बी–सेग्मेन्टको कम्प्याक्ट ह्याचब्याकमा पर्ने ई.मास ५ चिनियाँ अटो निर्माता जीलीको ‘सिङयुआन’ प्लेटफर्ममा आधारित छ। आधुनिक डिजाइन, आकर्षक केबिन तथा अत्याधुनिक प्रविधिका कारण यसले अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा बटुलेको छ।

    नेपालमा उपलब्ध हुने प्राइम भेरियन्टमा ३०.१२ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा २२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ। त्यस्तै प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री रहेको छ, जसले ३२५ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।
    दुवै भेरियन्टमा रहेको विद्युतीय मोटरले ८५ किलोवाट शक्ति र १५० न्युटन–मिटर टर्क उत्पादन गर्छ भने गाडीको अधिकतम गति १४० किलोमिटर प्रतिघण्टा रहेको छ। विशेष रूपमा, यसमा रियर ह्विल ड्राइभ (RWD) प्रणाली प्रयोग गरिएको छ, जुन यस मूल्य वर्गमा नेपालमा उपलब्ध विद्युतीय ह्याचब्याकमध्ये पहिलो भएको कम्पनीको दाबी छ।

    प्रविधिका हिसाबले पनि ई.मास ५ निकै समृद्ध रहेको छ। यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, की–लेस इन्ट्री, पुस–स्टार्ट बटन, ओभर–द–एयर (OTA) सफ्टवेयर अपडेट, भ्वाइस कमाण्ड, वायरलेस मोबाइल चार्जिङ तथा अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता सुविधा उपलब्ध छन्।

    सुरक्षाका लागि कारमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल–होल्ड असिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, अटो होल्ड, एबीएस, ईबीडी लगायतका सुविधा समावेश गरिएको छ। उच्च भेरियन्टमा एडास (ADAS) अन्तर्गतका उन्नत चालक सहायता प्रणालीसमेत उपलब्ध हुनेछ।
    सामान राख्नका लागि पछाडि ३७५ लिटरको बुट स्पेस दिइएको छ, जसलाई पछाडिको सिट फोल्ड गरेपछि १,३२० लिटरसम्म विस्तार गर्न सकिन्छ। साथै अगाडितर्फ ७० लिटर क्षमताको फ्रंक (Front Trunk) पनि उपलब्ध छ।

    चार्जिङतर्फ प्रिमियम भेरियन्टले डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ, जसमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब २० मिनेटमै चार्ज गर्न सकिन्छ। एसी चार्जरमार्फत घर वा कार्यालयमै सहज रूपमा चार्ज गर्न सकिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार प्राइम भेरियन्टको मूल्य ३० लाख रुपैयाँभन्दा कम तथा प्रिमियम भेरियन्टको मूल्य ४० लाख रुपैयाँभन्दा कम रहने अनुमान गरिएको छ। नेपाली बजारका लागि आधिकारिक मूल्य भने आज हुने सार्वजनिक कार्यक्रममा घोषणा गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar