शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियो)

  • कालिका खवर
  • मङ्लबार, असार ३०, २०८३
  • काठमाडौं । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आउन अझै करिब दुई महिना बाँकी रहे पनि नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक सुरु भइसकेको छ। तीज गीतहरूको रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा सार्वजनिक गर्ने क्रम तीव्र बन्दै गएको छ।

    यसैक्रममा लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा रहेको नयाँ तीज गीत ‘केटी पार्टी’ मंगलबार काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा साहित्यकार शान्ति शर्मा प्रमुख अतिथि रहेकी थिइन्।

    गीतमा मनिष श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने आकाश नेपालीले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्। गीतले “उमेर कहिल्यै बाधक हुँदैन, इच्छा र आत्मविश्वास भए जुनसुकै उमेरमा पनि नाच्न, रमाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ” भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ।

    गीतको म्युजिक भिडियोमा बिमला भण्डारी, सरिता थापा, कोइली थापा, शारदा श्रेष्ठ र नूतन अधिकारीको अभिनय तथा नृत्य रहेको छ। भिडियोको छायांकन तथा सम्पादन पवन सुस्लिङले गरेका हुन् भने कोरियोग्राफी तथा निर्देशन मनिष श्रेष्ठले गरेका छन्। भिडियो ‘मनिस श्रेष्ठ’ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

    भिडियोमा अभिनय गरेका बिमला भण्डारी, कोइली थापा, सरिता थापा, नूतन अधिकारी र शारदा श्रेष्ठ सामाजिक सेवामा सक्रिय रहँदै विभिन्न संघ–संस्थामार्फत उल्लेखनीय योगदान पुर्‍याउँदै आएका व्यक्तित्व हुन्। उनीहरूले यसपटक रहर र उत्साहका साथ तीज गीत निर्माण गरेको बताउँदै आगामी वर्षहरूमा पनि यही टोलीबाट निरन्तर नयाँ तीज गीत ल्याउने तयारी रहेको जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar