आमाको जन्मदिनमा सुमन दाहालको अनुपम उपहार : ‘आमा’ म्युजिक भिडियो सार्वजनिक

  • कालिका खवर
  • बुधबार, जेष्ठ ६, २०८३
  • काठमाडौं । आमाको माया संसारकै सबैभन्दा निष्कलंक, निस्वार्थ र पवित्र सम्बन्ध मानिन्छ। यही आमाप्रतिको श्रद्धा, प्रेम र कृतज्ञतालाई संगीत र दृश्यमार्फत जीवन्त बनाउने प्रयास गरेका छन् युवा चलचित्र निर्देशक सुमन दाहालले।

    विगत केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका दाहालले आफ्नी आमाको जन्मदिनलाई औपचारिक शुभकामनामा सीमित नराखी ‘आमा’ शीर्षकको मर्मस्पर्शी म्युजिक भिडियोमार्फत विशेष उपहार दिएका छन्।

    यो म्युजिक भिडियो केवल मनोरञ्जनमा सीमित नभई एउटा छोराले आमाप्रति व्यक्त गरेको अथाह प्रेम, सम्मान र समर्पणको भावनात्मक अभिव्यक्ति बनेको छ। परदेशमा रहेर पनि आमाको माया, संघर्ष र त्यागलाई सम्झिँदै उनले आफ्ना भावना शब्द, संगीत र दृश्यमार्फत मार्मिक ढंगले प्रस्तुत गरेका छन्।

    विशेषतः भिडियोमा बाहिरी कलाकारभन्दा आफ्नै परिवारका सदस्यहरूलाई अभिनय गराइएकाले दृश्यहरू अझ यथार्थपरक र आत्मीय बनेका छन्। आमाको भूमिकामा तुलसीदेवी दाहाल देखिएकी छन् भने मन्दिरा दाहाल, भुवन लोहानी, गरिमा पाण्डे र सम्राट दाहालले सन्तानको भूमिकामा अभिनय गरेका छन्। युवा आमाको भूमिकामा सुजिता सिटौला देखिएकी छन्। साथै बाल कलाकारहरू समीर दाहाल, साया भण्डारी, सावन लोहानी, अर्भी सुवेदी र अश्वत खनालले भिडियोलाई थप जीवन्त बनाएका छन्।

    गीतका शब्द स्वयं सुमन दाहालले लेखेका हुन्। गीतमा आमाको त्याग, ममता र सन्तानप्रतिको समर्पणलाई अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन पनि दाहाल स्वयंले गरेका हुन्।

    वरिष्ठ गायक प्रमोद खरेल र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीतमा संगीतकार वसन्त सापकोटाले संगीत दिएका छन्। संगीत संयोजन राजु कार्कीले गरेका छन् भने रेकर्डिस्ट ज्ञानेन्द्र गिरी र मिक्सिङ/मास्टरिङ प्रकाश केसीको रहेको छ। गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो।

    भिडियोको छायांकन राजु केसीले गरेका छन् भने सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्। रङ संयोजन रेनिस फागोले गरेका हुन्। मेकअप सिर्जा अधिकारीले गरेकी छन् भने पोस्टर डिजाइन नहाकुल खड्काले तयार पारेका छन्। म्युजिक भिडियोको पोस्ट–प्रोडक्सन किन्डल सिने स्टुडियोमा गरिएको छ।

    आमाको जन्मदिनमा फूल, केक वा भौतिक उपहारभन्दा फरक ढंगले सुमन दाहालले आफ्नी आमालाई समयले पनि नमेट्ने सिर्जनात्मक उपहार दिएका छन्। ‘आमा’ म्युजिक भिडियो अब केवल एउटा परिवारको कथा मात्र नभई हरेक नेपाली सन्तानको भावना र आमाप्रतिको सम्मानको प्रतीक बन्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar