एमएडब्लु वृद्धिले बालकुमारीमा नयाँ ईभी वर्कसप सञ्चालनमा ल्यायो

  • कालिका खवर
  • बिहिबार, असार ११, २०८३
  • काठमाडौं। नेपालमा डिपल, नाम्मी र सेरेस विद्युतीय सवारीसाधन (ईभी) को आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा अत्याधुनिक ईभी वर्कसप उद्घाटन गरेको छ। कम्पनीले ग्राहकलाई गुणस्तरीय तथा प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ वर्कसप सञ्चालनमा ल्याएको जनाएको छ।

    वर्कसपको उद्घाटन एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोङफेङ मोटर्सका दक्षिण एसिया क्षेत्रीय बिक्री निर्देशक हे जिक्सिन, क्षेत्रीय सेवा प्रबन्धक ली सिनचुन तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा गरेका हुन्।

    कम्पनीका अनुसार नयाँ वर्कसपमार्फत डिपल, नाम्मी र सेरेसका ग्राहकलाई अझ व्यवस्थित, छिटो र विश्वसनीय बिक्रीपछिको सेवा उपलब्ध गराइनेछ। करिब १५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यस वर्कसपमा ९ वटा सर्भिस बे रहेका छन्, जहाँ २४ जना प्रमाणित ईभी प्राविधिक कार्यरत रहनेछन्।

    वर्कसपको क्षमताअनुसार दैनिक ३६ वटासम्म विद्युतीय सवारीसाधनलाई सेवा प्रदान गर्न सकिने कम्पनीले जनाएको छ। आधुनिक उपकरण र दक्ष जनशक्तिको संयोजनमार्फत ग्राहकलाई उच्चस्तरीय मर्मत तथा प्राविधिक सेवा उपलब्ध गराइने बताइएको छ।

    नयाँ वर्कसपमा ईभी ब्याट्री परीक्षण (डायग्नोस्टिक) प्रणाली, पर्याप्त स्पेयर पार्ट्सको व्यवस्था, प्राविधिकहरूको सीप अभिवृद्धिका लागि छुट्टै प्रशिक्षण कक्ष तथा ग्राहकका लागि आरामदायी लाउञ्ज सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    यसका अतिरिक्त काठमाडौं उपत्यकाभित्र पिकअप तथा ड्रप सेवा, फास्ट ट्र्याक सर्भिस, २४सै घण्टा ब्रेकडाउन सहायता तथा समर्पित सेवा हटलाइन सेवा पनि सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार नयाँ वर्कसपले नेपालमा विद्युतीय सवारीसाधनको बिक्रीपछिको सेवा प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar