याडियाले ‘किनेस एक्सपिरियन्स’ मार्फत उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकलको अनुभव प्रस्तुत गर्‍यो

  • कालिका खवर
  • सोमवार, असार ८, २०८३
  • काठमाडौं । विश्वकै नम्बर–१ विद्युतीय दुईपाङ्ग्रे ब्रान्ड याडिया (YADEA) ले आफ्नो बहुप्रतीक्षित विद्युतीय मोटरसाइकल ‘YADEA Keeness’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत आयोजित ‘किनेस एक्सपिरियन्स’ कार्यक्रममार्फत कम्पनीले नयाँ पुस्ताको परफर्मेन्स ई–मोटरसाइकलको अनुभव प्रस्तुत गरेको हो।

    कम्पनीका अनुसार YADEA Keeness परम्परागत विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनभन्दा फरक अवधारणामा विकसित गरिएको मोटरसाइकल हो। दैनिक आवतजावतका लागि मात्र नभई गति, प्रदर्शन, रोमाञ्चक राइडिङ अनुभव तथा आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर तयार गरिएको यस मोटरसाइकलले आधुनिक प्रविधि र प्रिमियम अनुभव खोज्ने राइडरलाई लक्षित गरेको छ।

    YADEA Keeness मा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यसले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा प्राप्त गर्न सक्छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ। यी विशेषताले यसलाई नेपाली बजारका शक्तिशाली विद्युतीय मोटरसाइकलमध्ये एक बनाएको कम्पनीको दाबी छ।

    नेपालका विविध भौगोलिक अवस्था र सडक संरचनालाई ध्यानमा राखेर डिजाइन गरिएको Keeness ले २० डिग्रीसम्मको उकालो सहजै पार गर्न सक्ने क्षमता राख्छ। यसले शहरी सडकदेखि पहाडी मार्गसम्म सहज तथा भरपर्दो राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

    मोटरसाइकलमा ४.६ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली (BMS) ले सुरक्षित र दीर्घकालीन बनाएको छ। यस प्रणालीले ब्याट्रीको कार्यक्षमता बढाउनुका साथै सुरक्षित र भरपर्दो सञ्चालन सुनिश्चित गर्ने बताइएको छ।

    डिजाइनका हिसाबले पनि YADEA Keeness अन्तर्राष्ट्रिय स्तरमा प्रशंसित मोडल हो। यसले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड प्राप्त गरिसकेको छ, जसले याडियाको डिजाइन उत्कृष्टता र विद्युतीय सवारी प्रविधिप्रतिको प्रतिबद्धता झल्काउने कम्पनीको भनाइ छ।

    कार्यक्रममा बोल्दै कुजु नेपाल प्रालिका प्रतिनिधिले भने, “YADEA Keeness केवल यातायातको साधन मात्र होइन, यो शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव हो। हामी विश्वास गर्छौं कि यस कार्यक्रमले नेपालमा विद्युतीय मोटरसाइकललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनेछ।”

    नेपालमा YADEA Keeness को अधिकतम खुद्रा मूल्य (एमआरपी) ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ। उत्कृष्ट प्रदर्शन, अत्याधुनिक प्रविधि र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प बन्ने अपेक्षा कम्पनीले गरेको छ।

    सन् २००१ मा स्थापना भएको याडिया विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे निर्माता कम्पनी हो। कम्पनी हाल १५० भन्दा बढी देश तथा क्षेत्रमा सक्रिय रहेको छ र विश्वभर करोडौं प्रयोगकर्ताको विश्वास जित्दै आएको छ। लगातार नौ वर्षदेखि विश्वकै नम्बर–१ विद्युतीय दुईपाङ्ग्रे ब्रान्डको रूपमा स्थापित याडियाले नेपालको प्रिमियम ईभी बजारमा आफ्नो उपस्थिति अझ सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar