नेपाली बजारमा भित्रियो जीडब्लूएम ओरा फाइभ ईभी एसयूभी, एक चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज

  • कालिका खवर
  • सोमवार, असार ८, २०८३
  • काठमाडौँ । नेपाली बजारमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणबीच ग्रेटवाल मोटर्स (जीडब्लूएम) नेपालले आफ्नो बहुप्रतीक्षित विद्युतीय एसयूभी ‘ओरा फाइभ ईभी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, आकर्षक डिजाइन र लामो रेन्जका कारण यो गाडी नेपाली ईभी बजारमा नयाँ विकल्पका रूपमा प्रस्तुत भएको कम्पनीले जनाएको छ।

    पूर्ण रूपमा नयाँ ईभी प्लेटफर्ममा आधारित ओरा फाइभको डिजाइन गोलाकार तथा फ्लुइडिक शैलीमा तयार गरिएको छ, जसले यसलाई प्रिमियम लुक्स प्रदान गर्दछ। गाडीभित्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसरद्वारा सञ्चालित जीडब्लूएमको नवीनतम कफी ओएस ३.० इन्फोटेनमेन्ट प्रणाली जडान गरिएको छ, जसले प्रयोगकर्तालाई सहज र द्रुत डिजिटल अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

    गाडीको क्याबिनमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १४.६ इन्चको ठूलो सेन्ट्रल टचस्क्रिन उपलब्ध छ। यसले वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्छ। साथै, भेन्टिलेसन सुविधायुक्त लेदर सिट, १.६५ वर्ग मिटरको प्यानोरामिक ग्लास मुनरूफ र ६४-कलर एम्बियन्ट लाइटिङ जस्ता प्रिमियम फिचरहरू समावेश गरिएका छन्।

    ओरा फाइभमा फ्रन्ट-माउन्टेड सिंगल इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले १५० किलोवाट (२०१ अश्वशक्ति) पावर र २६० एनएम टर्क उत्पादन गर्छ। यसको अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ। गाडीमा ५८.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्याक जडान गरिएको छ, जसलाई पानी र आगो प्रतिरोधी क्षमता बढ्ने गरी विशेष रूपमा डिजाइन गरिएको छ।

    कम्पनीका अनुसार एकपटकको पूर्ण चार्जमा यसले ४३० देखि ४३५ किलोमिटरसम्मको रेन्ज दिन्छ भने वास्तविक सडक अवस्था र ड्राइभिङ शैलीअनुसार अधिकतम ५२० किलोमिटरसम्म यात्रा गर्न सकिनेछ। गाडीले १२० किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले २० मिनेटमै ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। ६.६ किलोवाट एसी चार्जरमार्फत घरमै चार्ज गर्दा करिब ६.६ घण्टा लाग्ने बताइएको छ।

    प्रविधिका दृष्टिले पनि ओरा फाइभ निकै उन्नत मानिएको छ। स्न्यापड्रागन प्लेटफर्ममा आधारित कफी ओएस ३.० प्रणालीले गाडीका डिजिटल फिचरहरूलाई छिटो र सहज रूपमा सञ्चालन गर्छ। साथै, ६ किलोवाट क्षमताको भेहिकल-टु-लोड (V2L) प्रविधि उपलब्ध भएकाले क्याम्पिङ वा बाहिरी गतिविधिका क्रममा गाडीको ब्याट्रीबाटै विभिन्न विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ।

    सुरक्षाका लागि गाडीमा लेभल–२ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) प्याकेज समावेश गरिएको छ। यसअन्तर्गत एडप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन–किप असिस्ट तथा ३६० डिग्री सराउन्ड–भ्यु क्यामरा जस्ता अत्याधुनिक सुरक्षा सुविधा उपलब्ध छन्। ४,४७१ एमएम लम्बाइ, १,८३३ एमएम चौडाइ, १,६४१ एमएम उचाइ तथा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो एसयूभीमा १८ इन्चका एलोय ह्वील, ३६२ लिटरको बुट स्पेस तथा सिट फोल्ड गर्दा १,०६० लिटरसम्म सामान राख्न सकिने क्षमता रहेको छ। वायरलेस स्मार्टफोन कनेक्टिभिटी र टेलिम्याटिक्स सिस्टमले आधुनिक डिजिटल जीवनशैलीलाई थप सहज बनाउने कम्पनीको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar