प्रोटोनले सार्वजनिक गर्‍यो ई–मास ७ प्रिमियम प्लस, एक चार्जमा ४५० किलोमिटर रेन्ज

  • कालिका खवर
  • बुधबार, असार ३, २०८३
  • काठमाडौं । मलेसियाली अटो निर्माता प्रोटोनले आफ्नो विद्युतीय एसयूभी ई–मास ७ को नयाँ तथा सबैभन्दा उच्च संस्करण ‘प्रिमियम प्लस’ सार्वजनिक गरेको छ। ६८.३९ किलोवाट आवर क्षमताको ठूलो ब्याट्रीसहित आएको यो मोडलले बढी रेन्ज र उन्नत प्रविधि प्रदान गर्ने कम्पनीले जनाएको छ। मलेसियाको तान्जोङ मालिमस्थित इभी प्लान्टमा एसेम्बल गरिएको यो मोडल ई–मास ७ सिरिजकै सबैभन्दा महँगो संस्करण हो।

    मलेसियाली बजारमा ई–मास ७ प्रिमियम प्लसको मूल्य १ लाख १८ हजार ८०० रिंगिट (करिब ४४ लाख १९ हजार नेपाली रुपैयाँ) निर्धारण गरिएको छ। कम्पनीले प्रारम्भिक ग्राहकलाई एक्सचेन्ज बोनस, ७ किलोवाट होम चार्जर, भी–टु–एल एडाप्टर, पाँच वर्षको अनलिमिटेड डेटा प्लान तथा अन्य केही निःशुल्क सुविधासमेत उपलब्ध गराउने घोषणा गरेको छ।

    नयाँ ब्याट्रीका कारण यो गाडीले डब्लूएलटिपी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा ४५० किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसअघिको प्रिमियम संस्करणको रेन्ज ४१० किलोमिटर रहेको थियो। गाडीमा २१८ पीएस शक्ति र ३२० एनएम टर्क उत्पादन गर्ने इलेक्ट्रिक मोटर जडान गरिएको छ भने ११५ किलोवाट डीसी फास्ट चार्जिङमार्फत ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन केवल २० मिनेट लाग्ने कम्पनीको दाबी छ।

    प्रिमियम प्लसमा यात्रुको आरामका लागि मसाज र भेन्टिलेसन सुविधा भएका अगाडिका सिट, लेग–रेस्ट, १६ स्पिकरयुक्त अडियो सिस्टम, हेड–अप डिस्प्ले तथा मेमोरी फङ्सनयुक्त सिट जस्ता सुविधाहरू समावेश छन्। सुरक्षाका लागि एडास प्रणाली, एक्टिभ लेन चेन्ज असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ तथा इन्टेलिजेन्ट क्रुज कन्ट्रोलजस्ता अत्याधुनिक प्रविधि दिइएको छ।

    प्रोटोनले ई–मास ७ लाई ६ बाह्य रङ तथा दुई इन्टेरियर रङ विकल्पमा उपलब्ध गराएको छ। गाडीमा ६ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी तथा ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ। नेपालमा ई–मास ७ का अन्य संस्करणहरू बिक्री भइरहेका छन् भने नयाँ प्रिमियम प्लस संस्करण पनि भविष्यमा नेपाली बजारमा भित्रिने सम्भावना रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar