बुद्धिजीवी अर्थमन्त्रीको उल्टो बुद्धि, बजेटमा घटायो इनर्जी ड्रिङ्क्स र भेपको भन्सार

  • कालिका खवर
  • शनिबार, जेष्ठ १६, २०८३
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको आर्थिक विधेयकमार्फत केही उपभोग्य वस्तुमा भन्सार दर घटाएको छ भने सुर्ति तथा चुरोटजन्य वस्तुमा कर वृद्धि गरेको छ। शुक्रबार संघीय संसदमा दर्ता गरिएको आर्थिक विधेयकअनुसार इनर्जी ड्रिङ्क्स र विद्युतीय चुरोट (भेप) को आयातमा लाग्ने भन्सार महसुल घटाइएको छ।

    विधेयकअनुसार इनर्जी ड्रिङ्क्समा लाग्दै आएको ४० प्रतिशत भन्सार महसुल घटाएर ३० प्रतिशत कायम गरिएको छ। त्यस्तै, कोक, पेप्सी लगायतका हल्का पेय पदार्थ तथा बास्नायुक्त दूधजन्य पेय पदार्थमा लाग्ने भन्सार दर पनि ४० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारिएको छ। यद्यपि सेम्पेन, सेरी, मिड, पेरी, साइडर र साके जस्ता मदिराजन्य पदार्थमा लाग्दै आएको ८० प्रतिशत भन्सार दर यथावत राखिएको छ भने अन्य मदिराको भन्सार दरमा कुनै परिवर्तन गरिएको छैन।

    सरकारले चुरोट तथा सुर्तिजन्य वस्तुमा भने कर वृद्धि गरेको छ। सुर्ति भएको सिगार र सेरुटको आयातमा प्रतिहजार खिल्ली लाग्ने महसुल ११ हजार रुपैयाँबाट बढाएर १२ हजार रुपैयाँ पुर्‍याइएको छ। फिल्टर भएको वा नभएको सबै प्रकारका चुरोटमा समान रूपमा लाग्ने भन्सार महसुल पनि प्रतिहजार खिल्ली ५ हजार ५०० रुपैयाँबाट बढाएर ६ हजार रुपैयाँ कायम गरिएको छ। यसअनुसार अब एक खिल्ली चुरोट आयात गर्दा ६ रुपैयाँ भन्सार महसुल तिर्नुपर्नेछ।

    त्यसैगरी, तयारी बिँडीको आयातमा पनि प्रतिहजार ५०० रुपैयाँ महसुल वृद्धि गरिएको छ। सबै प्रकारका सिगारको आयातमा लाग्ने महसुल प्रतिहजार ११ हजार रुपैयाँबाट बढाएर १२ हजार रुपैयाँ पुर्‍याइएको छ। चुरोट तथा बिँडी उत्पादनका लागि आयात गरिने प्रशोधित सुर्तिमा लाग्ने भन्सार दर ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गरिएको छ। कट टोबाको र डस्ट टोबाकोमा पनि भन्सार दर ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्‍याइएको छ।

    यद्यपि जर्दा, खैनी, नस (स्नफ), गुट्खा, चबाउने सुर्ति, हुक्का तथा विभिन्न फ्लेभरयुक्त सुर्तिजन्य वस्तुमा लाग्दै आएको ८० प्रतिशत भन्सार शुल्क भने यथावत राखिएको छ। यी वस्तुमा सरकारले कुनै थप कर वृद्धि गरेको छैन।

    उता विद्युतीय चुरोट (भेप) तथा अन्य निकोटिनयुक्त वैकल्पिक उत्पादनमा लाग्ने भन्सार महसुल ४० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारिएको छ। सरकारले एकातिर परम्परागत चुरोट तथा सुर्तिमा कर बढाएको र अर्कोतर्फ भेप तथा इनर्जी ड्रिङ्क्समा भन्सार घटाएको निर्णयले बजार तथा स्वास्थ्य क्षेत्रका सरोकारवालामाझ मिश्रित प्रतिक्रिया आउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar