भृकुटीमण्डपमा घरजग्गा र निर्माण क्षेत्रको बृहत् मेला आयोजना हुने

  • कालिका खवर
  • शनिबार, जेष्ठ १६, २०८३
  • काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा ‘९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुने भएको छ। आयोजकले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे जानकारी दिँदै ‘दिगोपनाका लागि हरियाली’ भन्ने मूल नारासहित मेला आयोजना गर्न लागिएको जनाएको हो। नेपाल चेम्बर अफ कमर्सको ७५ औँ हिरक जयन्तीको अवसर पारेर आयोजना हुन लागेको प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ। यसअघि नेपाल जग्गा तथा आवास विकास संघले यस्ता आठ वटा प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरिसकेको छ। आयोजकका अनुसार संविधानले आवासको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले वैज्ञानिक, किफायती, सुरक्षित तथा व्यवस्थित आवास विकासबारे जनचेतना अभिवृद्धि गर्न प्रदर्शनी प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ। प्रदर्शनीले रियल इस्टेट व्यवसायी, लगानीकर्ता तथा उपभोक्तालाई एउटै थलोमा ल्याई घरजग्गा, आवास तथा निर्माण क्षेत्रका नवीनतम प्रविधि, सेवा र लगानीका अवसरबारे जानकारी गराउनेछ। मेलामा भवन, अपार्टमेन्ट तथा जग्गा विकास आयोजना, निर्माण सामग्री, विद्युतीय उपकरण, आधुनिक फर्निचर, सेनिटरी वेयर्स, पेन्ट, सेरामिक, काठ तथा ढुंगाजन्य सामग्री, इन्टेरियर डेकोर, वास्तुकला, भर्चुअल तथा अग्मेन्टेड रियालिटी (VR/AR) प्रविधि, सौर्य ऊर्जा तथा आधुनिक फोहोर व्यवस्थापन प्रणालीलगायतका सामग्री र सेवाहरू प्रदर्शन गरिनेछन्। आयोजकका अनुसार मेलामा बैंक तथा बीमा कम्पनी, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट, रियल इस्टेट एजेन्ट, निर्माण सामग्री उत्पादक तथा आपूर्तिकर्तासहित स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी स्टल रहनेछन्। साथै, विभिन्न क्षेत्रका विज्ञहरूले उपभोक्तालाई प्रत्यक्ष परामर्श सेवा प्रदान गर्नेछन्। इच्छुक कम्पनीहरूले मेला अवधिमै आफ्ना नयाँ उत्पादन तथा सेवाको औपचारिक शुभारम्भ (प्रोडक्ट लञ्च) गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ। घरजग्गा व्यवसायी, घर तथा जग्गा खरिदकर्ता, इन्जिनियर, आर्किटेक्ट, शहरी योजनाकार, इन्टेरियर डिजाइनर, निर्माण सामग्री विक्रेता तथा अन्य सेवा प्रदायकका लागि साझा मञ्चका रूपमा रहने विश्वास गरिएको प्रदर्शनीमा सरकारी निकाय, मन्त्रालय, विभाग तथा स्थानीय तहका प्रतिनिधिको समेत सहभागिता रहने अपेक्षा गरिएको छ। यसबाट नीतिगत समस्या समाधान तथा सार्वजनिक–निजी साझेदारीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ। हाल देखिएको आर्थिक शिथिलताका बीच आयोजना हुन लागेको प्रदर्शनीले घरजग्गा तथा आवास क्षेत्रको कारोबारलाई थप पारदर्शी, व्यवस्थित र सहज बनाउन योगदान पुग्ने आयोजकको दाबी छ। बैंकिङ क्षेत्रमा बढ्दो तरलता र घट्दो ब्याजदरको वर्तमान अवस्थाले उपभोक्तालाई सुरक्षित लगानी र उपयुक्त वित्तीय निर्णयतर्फ आकर्षित गर्ने विश्वास समेत आयोजकले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar