शाओमीको इभी व्यवसायबाट ४ खर्बभन्दा बढी आम्दानी, तर प्रतिगाडी औसत ८ लाख रुपैयाँभन्दा बढी घाटा

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी Xiaomi ले सन् २०२६ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो स्मार्ट विद्युतीय सवारी (इभी) तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नवप्रवर्तन क्षेत्रबाट १९ अर्ब ९० करोड युआन अर्थात् करिब ४ खर्ब ४३ अर्ब रुपैयाँ आम्दानी गरेको जनाएको छ।

    यद्यपि, यस अवधिमा कम्पनीले ३ अर्ब १० करोड युआन अर्थात् करिब ६९ अर्ब रुपैयाँ सञ्चालन घाटा व्यहोरेको देखिएको छ। कम्पनीका अनुसार पहिलो त्रैमासिकमा कुल ८० हजार ८५६ वटा गाडी बिक्री भएका छन्, जसअनुसार प्रतिगाडी औसतमा करिब ८ लाख ५५ हजार रुपैयाँ घाटा परेको अनुमान गरिएको छ। गत वर्षको सोही अवधिमा भने कम्पनीलाई प्रतिगाडी करिब ९०० अमेरिकी डलर बराबर घाटा भएको थियो।

    यस वर्षको पहिलो त्रैमासिकमा शाओमीले ८० हजार ८५६ वटा नयाँ गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ, जुन सन् २०२५ को सोही अवधिको ७५ हजार ८६९ गाडीको तुलनामा ६.६ प्रतिशतले बढी हो। स्मार्ट इभी क्षेत्रबाट मात्रै कम्पनीले १९ अर्ब युआन अर्थात् करिब ४ खर्ब २३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। कम्पनीका अनुसार प्रतिगाडी औसत बिक्री मूल्य झन्डै २ लाख ३५ हजार युआन रहेको छ।

    कम्पनीले पहिलो पुस्ताको एसयू७ श्रृंखलाको उत्पादन बन्द हुनु र आपूर्ति कम हुनुका बाबजुद पनि वार्षिक वृद्धिदर कायम राख्न सफल भएको जनाएको छ। यो वृद्धि मुख्यतः नयाँ वाईयू७ श्रृंखलाले बजारमा पाएको लोकप्रियताका कारण सम्भव भएको कम्पनीको भनाइ छ।

    गत मार्चमा सार्वजनिक गरिएको नयाँ पुस्ताको एसयू७ गाडीका लागि तीन सातामै ८० हजारभन्दा बढी वैधानिक बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ। त्यस्तै, वाईयू७ श्रृंखला बजारमा आएको १० महिनाभित्रै २ लाख ३२ हजारभन्दा बढी गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ।

    मूल्य निर्धारणअनुसार हालै सार्वजनिक गरिएको वाईयू७ जीटीको प्रारम्भिक मूल्य ३ लाख ८९ हजार ९०० युआन अर्थात् करिब ८६ लाख ९४ हजार रुपैयाँ तोकिएको छ। साधारण वाईयू७ मोडलको सुरुवाती मूल्य २ लाख ३३ हजार ५०० युआन अर्थात् करिब ५२ लाख रुपैयाँ रहेको छ।

    व्यवसाय विस्तारलाई तीव्रता दिन शाओमीले मार्च ३१ सम्म मुख्य भूमि चीनका १४३ सहरमा आफ्ना खुद्रा बिक्री केन्द्रहरूको संख्या बढाएर ४९० पुर्‍याएको जनाएको छ।

    यद्यपि, आम्दानी वृद्धि भए पनि गाडी उत्पादन क्षेत्रको नाफामा दबाब बढेको देखिएको छ। स्मार्ट इभी र एआई नवप्रवर्तन क्षेत्रको कुल नाफा अनुपात गत वर्षको २३.२ प्रतिशतबाट घटेर यस वर्ष २०.१ प्रतिशतमा झरेको छ।

    कम्पनीका अनुसार गाडी खरिदमा दिइने कर अनुदान, बढी नाफा दिने एसयू७ अल्ट्रा मोडलको सीमित आपूर्ति तथा मुख्य पाटपुर्जाको बढ्दो लागतका कारण नाफामा गिरावट आएको हो। यही कारण कम्पनीले यस क्षेत्रमा ३ अर्ब १० करोड युआन सञ्चालन घाटा व्यहोर्नुपरेको जनाएको छ।

    तर कम्पनीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत अप्रिल महिनामा मात्रै Xiaomi ले ३६ हजार ७०२ वटा गाडी बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा २८.४ प्रतिशत तथा अघिल्लो महिनाको तुलनामा ७१.२ प्रतिशतले बढी हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar