वीरगञ्ज महानगरपालिकाद्वारा संस्थागत विद्यालयहरूलाई कडा निर्देशन

  • कालिका खवर
  • शनिबार, बैशाख २६, २०८३
  • पर्सा। वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले संस्थागत विद्यालयहरू (मन्टेश्वरीसमेत) लाई लक्षित गर्दै अत्यन्तै कडा निर्देशन जारी गरेको छ। महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने ले नेपाल सरकारद्वारा आइतबार सार्वजनिक बिदा घोषणा गरिसकिएको अवस्थामा अर्को सूचना जारी नभएसम्म सम्पूर्ण विद्यालयहरूमा आइतबार पठनपाठन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएका छन्।

    महाशाखाले कतिपय विद्यालयहरूले सार्वजनिक बिदाको दिनसमेत विद्यालय सञ्चालन गरिरहेको भन्ने सूचना प्राप्त भएको जनाएको छ। यस्तो कार्य सरकारको निर्णयविपरीत मात्र नभई शैक्षिक अनुशासन तथा कानुनी व्यवस्थाको खुला उल्लंघन भएको उल्लेख गर्दै महानगरपालिकाले अब अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

    त्यसैगरी, केही निजी तथा संस्थागत विद्यालयहरूले विद्यालय परिसरभित्रबाटै पाठ्यपुस्तक, विद्यालय पोशाक, स्टेशनरी सामग्री लगायतका वस्तु बिक्री वितरण गरिरहेको गुनासो महानगरपालिकासम्म पुगेपछि प्रशासन थप कडा रूपमा प्रस्तुत भएको छ। विद्यालयलाई व्यापारिक केन्द्रका रूपमा प्रयोग गर्ने प्रवृत्ति विद्यार्थी तथा अभिभावकमाथिको आर्थिक भार बढाउने कार्य भएको भन्दै यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिइएको छ।

    महाशाखाले स्पष्ट चेतावनी दिँदै विद्यालय हाताबाट नै किताब, ड्रेस तथा स्टेशनरी बिक्री गरेको पाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिने जनाएको छ। अनुगमन टोलीले कुनै विद्यालयमा यस्तो गतिविधि फेला पारेमा सम्बन्धित विद्यालय प्रशासनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

    यस्तै, पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी तथा अनावश्यक सङ्ख्यामा पुस्तकहरू बालबालिकामाथि जबरजस्ती थोपर्ने कार्यप्रति पनि महानगरपालिका गम्भीर बनेको छ। साना बालबालिकालाई अत्यधिक पुस्तकको बोझ बोक्न बाध्य बनाउने कार्यले उनीहरूको मानसिक तथा शारीरिक विकासमा प्रत्यक्ष असर पर्ने भएकाले तत्काल यस्तो प्रवृत्ति रोक्न निर्देशन दिइएको छ।

    विद्यालयहरूले आवश्यकभन्दा बढी पुस्तक प्रयोग गराएर अभिभावकबाट अनावश्यक आर्थिक भार उठाउने र विद्यार्थीहरूलाई तनाव दिने कार्य सह्य नहुने महानगरपालिकाको भनाइ छ। अनुगमनका क्रममा अनावश्यक पाठ्यपुस्तक प्रयोग भएको पाइएमा सम्बन्धित विद्यालय प्रशासनलाई कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

    शैक्षिक क्षेत्रलाई व्यवस्थित, मर्यादित र विद्यार्थीमैत्री बनाउन वीरगञ्ज महानगरपालिकाले चालिरहेको पहलको चौतर्फी प्रशंसा भइरहेको छ। विशेषगरी शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले देखाएको सक्रियता, कानुन कार्यान्वयनप्रतिको प्रतिबद्धता तथा निजी विद्यालयहरूलाई अनुशासनभित्र ल्याउने प्रयासलाई अभिभावक तथा शिक्षाप्रेमीहरूले सकारात्मक रूपमा लिएका छन्।

    महानगरपालिकाले “कानुन मान्नु हामी सबैको साझा कर्तव्य हो, कानुन विपरीत कार्य गर्नु कारबाहीको भागीदार हुनु हो” भन्ने सन्देशसहित सम्पूर्ण विद्यालय प्रशासनलाई सरकारको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

    अब पनि सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन गर्ने, विद्यालयबाटै किताब तथा पोशाक बिक्री गर्ने, वा विद्यार्थीमाथि अनावश्यक पुस्तकको बोझ थोपरिने कार्य दोहोरिएमा वीरगञ्ज महानगरपालिकाले कुनै पनि हालतमा छुट नदिने र कडाभन्दा कडा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar