कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

  • कालिका खवर
  • शनिबार, बैशाख १२, २०८३
  • ललितपुर ( गोदावरी )– काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिको आयोजनामा हुने कर्पोरेट टी–१० लिगको तयारी पूरा भएको छ । शनिबार शंखमूलस्थित अनमोल बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिइएको हो । बैशाख १३ गते आइतबारदेखि देखि १६ गतेसम्म तल्लो मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजकले दिइएको छ।
    कर्पोरेट टी–१० लिगमा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ६ टोलीहरू: एनसेल, क्लाउडफ्याक्ट्री, सिप्रदी, आईसीएफसी फाइनान्स, सुबिसु र टेक्स्पायर कलेजको सहभागिता रहनेछ ।
    पत्रकार सम्मेलनमा मुख्य प्रायोजक टेक्स्पायर कलेजका सीईओ तथा प्रिन्सिपल लक्ष्मण पोखरेलले कर्पोरेट टी–१० को आयोजनालाई कलेजका लागि गर्वको विषय भएको बताएका छन्। उनले कर्पोरेट क्षेत्र र खेलकुदबीचको सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे।
    पोखरेलले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै युवाहरूलाई खेलकुदप्रति प्रेरित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। साथै, सहभागी सबै टोलीहरूलाई शुभकामना दिँदै उनले प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
    कर्पोरेट टी–१० का टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले प्रतियोगितालाई प्राविधिक रूपमा उत्कृष्ट, व्यवस्थित र निष्पक्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। गुप्ताले खेल मैदानको तयारीदेखि लिएर अम्पायरिङ, स्कोरिङ तथा समग्र खेल सञ्चालनलाई व्यवस्थित ढंगले अगाडि बढाइने जानकारी दिए। कर्पोरेट टी–१० ले कर्पोरेट क्षेत्रमा खेलकुदको स्तर उकास्नुका साथै खेलाडीहरूमा अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

    कर्पोरेट टी–१० का टुर्नामेन्ट डाइरेक्टर ज्योति भण्डारीले प्रतियोगितालाई सफल, व्यवस्थित र स्मरणीय बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कर्पोरेट क्षेत्रलाई एउटै मञ्चमा ल्याउँदै खेलकुदमार्फत सहकार्य र सम्बन्ध विस्तार गर्ने लक्ष्य रहेको बताए। भण्डारीले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनलाई प्रभावकारी ढंगले सञ्चालन गरिने जानकारी दिँदै खेलाडी, दर्शक तथा साझेदार सबैलाई उच्चस्तरीय अनुभव प्रदान गरिने बताए। उनले सहभागी सबै टोलीहरूलाई शुभकामना दिँदै प्रतियोगिताको सफलताका लागि सम्पूर्ण सरोकारवालाहरूको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
    पत्रकार सम्मेलनमा लिगको फेस अफ कर्पोरेट टी–१० महिला राष्ट्रिय क्रिकेटर खुसी डंगोलले खेलप्रतिको लगाव र सहभागिता बढाउन यस्ता प्लेटफर्म अत्यन्त महत्त्वपूर्ण रहेको र यसले महिला तथा पुरुष दुवैलाई प्रेरणा दिने धारणा व्यक्त गरेकी थिइन्।
    यस प्रतियोगितालाई टेक्स्पायर कलेजले मुख्य प्रायोजन गरेको छ भने इनर्जी पार्टनर एक्सट्रिम इनर्जी ड्रिंक, बैंकिङ पार्टनर आईसीएफसी फाइनान्स, इन्टरनेट पार्टनर सुबिसु, हस्पिटालिटी पार्टनर अनमोल बैंक्वेट, मेडिकल पार्टनर होप हस्पिटल, ब्रोडकास्ट पार्टनर काष्ठमण्डप टेलिभिजन, ट्राभल पार्टनर बुद्ध इन्टरनेशनल र सपोर्टेड बाई माया ग्रुप, नेपाली राइनोज, द वन्डरल्यान्ड रहेका छन्।
    आज आयोजित पत्रकार सम्मेलनमा टिम जर्सी तथा ट्रफी समेत सार्वजनिक गरिएको थियो। प्रतियोगिताको प्रत्यक्ष्य प्रसारण काष्ठमण्डप टेलिभिजनमा हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar