दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु

  • कालिका खवर
  • बिहिबार, बैशाख १०, २०८३
  • काठमाडौं । दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । यस घटनाले युद्धविरामलाई थप दबाबमा पारेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

    रिपोर्टका अनुसार, इजरायली सेनाले दक्षिण लेबनानको अल–तिरी गाउँमा एउटा सवारी साधनलाई निशाना बनाउँदा दुई जनाको मृत्यु भएको थियो । इजरायली सेनाले उक्त गाडी हिजबुल्लाह समूहले प्रयोग गर्ने क्षेत्रबाट निस्किएकाले आक्रमण गरिएको दाबी गरेको छ ।

    त्यस्तै, अर्को एक गाउँको भवनमा भएको हवाई आक्रमणमा परी अल अखबर न्युज आउटलेटमा कार्यरत एक महिला पत्रकारको मृत्यु भएको छ । आक्रमणपछि उनी भवनको भग्नावशेषमा फसेकी थिइन् र पछि उनको मृत शरीर निकालिएको थियो । लेबनानका सूचनामन्त्रीले पत्रकारमाथि भएको यस आक्रमणको कडा निन्दा गर्दै सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्न माग गरेका छन् ।

    इजरायली रक्षा बलले भने हिजबुल्लाहले युद्धविराम उल्लंघन गरेकाले आफूहरूले कारबाही गरेको बताएको छ । आईडीएफका अनुसार दक्षिण लेबनानको सलुकी क्षेत्रमा हिजबुल्लाहका दुई सदस्यहरूले फर्वार्ड डिफेन्स लाइन पार गरी इजरायली सैनिकहरू नजिक आएपछि हवाई हमला गरिएको हो ।

    इजरायली सेनाले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार सलुकी क्षेत्रमा दुई जना हतियारधारीले युद्धविरामको समझदारी उल्लंघन गर्दै सैनिकहरूका लागि खतरा पैदा गरेपछि उनीहरूलाई निष्कृय पार्न हवाई आक्रमण गरिएको हो ।’

    इजरायलले उक्त क्षेत्रमा हिजबुल्लाहसँग सम्बन्धित सैन्य पूर्वाधारहरू नष्ट गर्ने र हतियारहरू खोजी गर्ने अभियान अझै जारी रहेको समेत जानकारी दिएको छ । यो पछिल्लो हिंसाले लेबनान र इजरायलबीचको तनाव पुनः बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar