एन्जलस एकेडेमीलाई हराउँदै गौरीशंकर सुपर लिगको उपाधि क्रिकेट एक्सीलेन्संलाई, सन्दीप साउद ’प्लेयर अफ द टूर्नामेन्ट’

  • कालिका खवर
  • बिहिबार, बैशाख १०, २०८३
  • ललितपुर (गोदावरी)– गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सीलेन्स सेन्टर(सिईसी) काठमाडौंले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा एन्जलस स्पोट्र्स एकेडेमीलाई ३६ रनले पराजित गर्दै सिईसीले नगद एक लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उप विजेता एन्जलस स्पोट्र्सले ४१ हजार रुपैयाँ पुरस्कार पायो ।
    टस जितेर पहिले ब्याटिङ रोजेको क्रिकेट एक्सीलेन्स सेन्टरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो। टोलीका लागि दिनेश बोहराले आक्रामक ब्याटिङ गर्दै मात्र १० बलमा २ चौका र ३ छक्काको मद्दतले सर्वाधिक २७ रन बनाए। त्यस्तै बुद्धिमान विष्टले १९ रन र कप्तान प्रसिद्ध जैशीले १७ रनको योगदान दिए। बलिङतर्फ एन्जलस स्पोट्र्स एकेडेमीका धिराज यादव र प्रह्लाद गौतमले २–२ विकेट लिए।

    १ सय ६ रनको मध्यम लक्ष्य पछ्याएको एन्जलस स्पोट्र्स एकेडेमी सिईसी काठमाडौंका बलरहरूको कडा बलिङसामु टिक्न सकेन। १८.२ ओभरमा मात्र ६९ रन बनाउँदा टोली अलआउट भयो। एन्जलसका लागि विशाल ऐयरले सर्वाधिक २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। सिईसी काठमाडौंलाई जित दिलाउन ब्याटिङमा चम्किएका दिनेश बोहराले बलिङमा पनि घातक प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र १२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। उनलाई अनिकेत सिंहले २ विकेट लिएर साथ दिए। फाइनलमा म्यान अफ द म्याच २७ रन र ३ विकेट लिएका सिईसी काठमाडौंका दिनेश बोहरा भए ।

    प्रतियोगितका विजेता तथा उपविजेता खेलाडीलाई क्यानका सचिव पारस खड्का, राखेप सदस्य जगत टमाटा, समाजसेवी केदार खड्का र गौरीशंकर गाउँपालीकाकी उपाध्यक्ष उमा मगर शेर्पाले पुरस्कार वितरण गरे ।
    प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका एन्जलस स्पोट्र्स एकेडेमीका सन्दीप साउद ’प्लेयर अफ द टूर्नामेन्ट’ घोषित भए । फाइनलमा पराजित भए पनि सन्दीपको व्यक्तिगत प्रदर्शन तारिफयोग्य रह्यो। उनले ब्याट पुरस्कर प्राप्त गरे । उत्कृष्ट ब्याटर एन्जलस स्पोट्र्सकै जोय थापा , उत्कृष्ट बलर नेकस्स क्रिकेट एकेडेमीका साईमन पन्त भए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar