कुमारी बैंकद्वारा मास्टर डेबिट कार्ड सार्वजनिक

  • कालिका खवर
  • बिहिबार, चैत्र १२, २०८२
  • काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकलाई थप सहज र आधुनिक डिजिटल सेवा प्रदान गर्ने उद्देश्यले मास्टर डेबिट कार्ड सार्वजनिक गरेको छ। बैंकले बिहीबार राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत उक्त कार्ड सार्वजनिक गरेको हो।
    विद्युतीय भुक्तानीलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यसहित ल्याइएको यस कार्डमार्फत ग्राहकहरूले डिजिटल बैंकिङ, सुरक्षित इन्टरनेट भुक्तानी, मोबाइल बैंकिङ, कार्डलेस बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवामा थप सहज पहुँच पाउने बैंकले जनाएको छ।

    बैंकका अनुसार प्रारम्भिक चरणमा यो मास्टर डेबिट कार्ड नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिनेछ। विश्वका २१० भन्दा बढी देशमा प्रयोग गर्न मिल्ने मास्टर कार्ड नेटवर्कमा आधारित भएकाले यसले अन्तर्राष्ट्रिय स्तरमा पनि भुक्तानी सुविधा विस्तार गर्ने विश्वास गरिएको छ। कार्डमा समावेश उन्नत साइबर सुरक्षा प्रविधिले नगद तथा डिजिटल कारोबारलाई सुरक्षित बनाउने दाबी गरिएको छ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले मास्टर कार्ड टेक्नोलोजीसँग सहकार्य गर्दै यस्तो कार्ड सार्वजनिक गर्न पाउँदा ग्राहकको डिजिटल भुक्तानी प्रणालीलाई विश्वव्यापी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। उनले यसले ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको भुक्तानी अनुभव प्रदान गर्नुका साथै बैंकको डिजिटल रूपान्तरण अभियानलाई बल पुर्‍याउने उल्लेख गरे।

    त्यसैगरी, कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्रकारले मास्टर डेबिट कार्डको महत्व र यसको प्रयोगका सम्भावनाबारे प्रकाश पार्दै यसले भौतिक तथा डिजिटल दुवै माध्यमबाट भुक्तानी प्रक्रिया सरल, छरितो र सुरक्षित बनाउने बताए।

    कार्यक्रममा मास्टर कार्डका भाइस प्रेसिडेन्ट पवन सेलले कुमारी बैंकसँग विगत दुई वर्षदेखि सहकार्य गर्दै आएको स्मरण गराउँदै यस कार्ड सार्वजनिकसँगै सहकार्य अझ मजबुत बनेको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar