कर्णालीमा सडक सुरक्षा सुदृढ बनाउन ट्राफिक प्रमुखहरूलाई निर्देशन

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • सुर्खेत । कर्णाली प्रदेशमा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले मातहतका कार्यालयहरूलाई आवश्यक निर्देशन दिएको छ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्ला ट्राफिक कार्यालय तथा अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

    आज आयोजित भर्चुअल बैठकमार्फत उनले ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा संक्षिप्त जानकारी दिँदै आवश्यक निर्देशन प्रदान गरेका थिए। ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मातहतका कार्यालयहरूलाई आवश्यक मार्गदर्शन गरिएको उनले बताए।

    प्रहरी उपरीक्षक रिजालले ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट गरेका कामकारबाहीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, गैरव्यावसायिक आचरण नियन्त्रण गर्न तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिन निर्देशन दिएको जानकारी दिए।

    यस्तै, ट्राफिक व्यवस्था तथा सडक सुरक्षालाई सुदृढ बनाउन आफ्नो कार्यक्षेत्रका सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य बढाउन ट्राफिक प्रमुखहरूलाई सुझाइएको उनले बताए। कर्णाली प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक रणनीति अपनाउँदै सक्रिय भूमिका खेल्न समेत निर्देशन दिइएको उनको भनाइ छ।

    बैठकमा सहभागी ट्राफिक प्रमुखहरूले आफ्नो कार्यक्षेत्रमा देखिएका समस्या, चुनौती तथा अनुभव प्रस्तुत गरेका थिए। ती समस्या समाधानका लागि आवश्यक मार्गनिर्देशन प्रदान गरिएको प्रहरी उपरीक्षक रिजालले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar