‘पर्सागढीलाई विश्वसामु चिनाउनेछु’ – उम्मेदवार बिना कुर्मीको प्रतिबद्धता

  • कालिका खवर
  • आइतवार, माघ २५, २०८२
  • वीरगंज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना जायसवाल कुर्मीले पर्सागढी नगरपालिका–७ रघुनाथपुरमा घरदैलो तथा ‘जनता दर्शन’ कार्यक्रम सम्पन्न गरेकी छन्।

    कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, आवश्यकता र सुझाव संकलन गरिन्। घरदैलोमा देखिएको जनसहभागिता र समर्थनले आफ्नो चुनावी अभियान थप सशक्त बनेको उनले बताइन्।

    कुर्मीले पर्सागढीलाई नेपालको स्वाधीनताको प्रतीकका रूपमा चित्रित गर्दै यसको ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरिन्। नेपाल–अंग्रेज युद्धका क्रममा पर्सागढीको भूमिमा स्थानीय वीरहरू र नेपाली सेनाले ब्रिटिस इस्ट इन्डिया कम्पनीको सेनालाई पराजित गरेको स्मरण गर्दै उनले भनिन्, “पर्सागढीका वीरताका कारण नेपाल कुनै विदेशी शक्तिको उपनिवेश बन्नबाट जोगियो। यो ऐतिहासिक स्थल अझै ओझेलमा छ। निर्वाचित भएपछि यसको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासमा विशेष पहल गर्नेछु।”

    यसैगरी, उनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको बताइन्। “स्थानीय जनताले गुणस्तरीय स्वास्थ्य सेवा, स्तरीय शिक्षा र स्वदेशमै रोजगारी पाउनुपर्छ। युवाहरू विदेशिन बाध्य छन्, त्यसलाई रोक्न रोजगारी सिर्जना मेरो प्राथमिकता हुनेछ,” उनले भनिन्।

    जनता दर्शन कार्यक्रममा स्थानीयवासीहरूले सडक, खानेपानी, विद्यालय सुधार, अस्पताल स्तरोन्नति, कृषि तथा उद्योग विकासलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए। कुर्मीले ती सबै समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको विश्वास दिलाइन्।

    चुनावी अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि टोल–टोलमा पुगेर मतदातासँग संवाद गर्ने उनले जनाइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar