पर्सा–२ मा जसपा उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान तीव्र, अगुवा भेला सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, माघ २३, २०८२
  • वीरगंज – पर्सा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

    चुनावी अभियान अन्तर्गत उम्मेदवार टेमानीले घरदैलो अभियान, कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रमलाई सशक्त बनाउँदै अघि बढेका छन्। सोही क्रममा शुक्रबार बिहान वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीवीर्तामा जनता समाजवादी पार्टीको अगुवा भेला सम्पन्न भएको छ।

    भेलामा प्रमुख अतिथि पूर्व मुख्यमन्त्री तथा जसपाका वरिष्ठ नेता लालबाबु राउत गद्दी, विशिष्ट अतिथि पूर्वमन्त्री रमेश कुर्मी, प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीसहित जसपाका नेताहरू विरेन्द्र प्रसाद यादव, आशुतोष चतुर्वेदी, मुसाफिर अन्सारी, रामनाथ कुशवाहा, सकल हजरा पासवान, विरबल यादव, रिजवान अन्सारी तथा नेतृ करिमा बेगमको विशेष उपस्थिति रहेको थियो।

    भेलालाई सम्बोधन गर्दै विशिष्ट अतिथि पूर्वमन्त्री रमेश कुर्मीले पर्सा क्षेत्र नं. २ का जनताको माया र स्नेहकै कारण आफू दुईपटक निर्वाचित भएको स्मरण गराउँदै यस पटक जसपा उम्मेदवार अशोक टेमानीलाई विजयी गराउन आग्रह गरे। उनले आफ्नो कार्यकालमा विभिन्न विकास निर्माणका काम भएको उल्लेख गर्दै क्षेत्र नं. २ लाई विकासको बाटोमा लैजान जसपा सक्षम रहेको विश्वास व्यक्त गरे।

    कुर्मीले उम्मेदवार टेमानी लामो समयदेखि निःस्वार्थ रूपमा समाजसेवामा सक्रिय रहेको उल्लेख गर्दै यस्ता व्यक्तित्व निर्वाचित भए पर्सा–२ को समग्र विकास सम्भव हुने बताए। उनले उद्योग, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सुधारका लागि जसपाको नेतृत्व आवश्यक रहेको धारणा राखे।

    त्यसैगरी भेलालाई सम्बोधन गर्दै जसपा नेतृ करिमा बेगमले सबै जातजातिको पहिचान र अधिकारका लागि निरन्तर संघर्ष गर्ने पार्टी जसपा भएको बताइन्। उनले भूमि आयोगको मुद्दामा समेत जसपाले अग्रणी भूमिका खेल्दै आएको उल्लेख गर्दै सामाजिक क्षेत्रमा सक्रिय र जनताको पीडा बुझ्ने उम्मेदवार अशोक टेमानीलाई विजयी गराउन सबै एकजुट हुन आह्वान गरिन्।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले आफू भाषणभन्दा काममा विश्वास गर्ने व्यक्ति भएको बताउँदै मतदातासँग एक पटक अवसर दिन आग्रह गरे। उनले पर्सा क्षेत्र नं. २ का जनताको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता जनाउँदै भने, “म भाषण गर्न होइन, काम गरेर देखाउन राजनीतिमा आएको हुँ। एक पटक मौका दिनुस्, तपाईहरूको विश्वास तोड्दिन।”

    भेलामा सहभागी युवा तथा कार्यकर्ताहरूले सबै एकजुट भई जसपा उम्मेदवार टेमानीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा प्रभावकारी काम गर्न जसपाको विकल्प नभएको दाबी गर्दै चुनावी अभियानमा कुनै कसर बाँकी नराख्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar