नबिल बैंक र एनआइबी–जिएबीच एसएमई विकासका लागि ८४ करोडको रणनीतिक साझेदारी

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यम (एसएमई) लाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउने उद्देश्यसहित रणनीतिक साझेदारी भएको छ। साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरेका छन्।

    फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) ले एनआइबी–जिएमार्फत ४० वटा साना तथा मझौला उद्यमलाई ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउनेछ। यसले उद्यमीलाई उत्पादन तथा सेवा विस्तार गर्दै निर्यातमुखी व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने बताइएको छ।

    साझेदारीबारे सिइओ ज्ञवालीले यस कार्यक्रमले साना तथा मझौला उद्यमीको मनोबल बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा तथा च्यानल फाइनान्सिङ सुविधा उपलब्ध गराउने तयारी रहेको पनि उनले बताए।

    एनआइबी–जिएका प्रमुख बस्न्यातले पारदर्शी रूपमा अनुदान व्यवस्थापनमा नबिल बैंकको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै यस्तो मोडल अन्य सरकारी तथा विकास परियोजनामा पनि प्रभावकारी ढंगले लागू गर्न सकिने बताए।

    साझेदारीअनुसार नबिल बैंक कार्यक्रमको वित्तीय साझेदारका रूपमा उद्यमीलाई अनुदान वितरण तथा वित्तीय व्यवस्थापन गर्नेछ। पाँच वर्षे यस परियोजनामा यूके इन्टरनेशनल डेभलपमेन्टको वित्तीय सहयोग रहेको छ भने डिएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ।

    २५ लाखभन्दा बढी सेवाग्राहीसहित देशभर २६८ शाखा र ३२१ एटिएममार्फत सेवा दिँदै आएको नबिल बैंक अन्तर्राष्ट्रियस्तरको सेवा तथा नवीन बैंकिङ प्रविधि भित्र्याउने अग्रणी संस्थाका रूपमा स्थापित छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar