मुस्ताङ भ्रमणमा अब दैनिक ५० डलर शुल्क

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी नागरिकले अब दैनिक ५० अमेरिकी डलर तिर्नुपर्ने भएको छ।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अध्यागमन नियमावली, २०५१ को अनुसूची–१२ संशोधनमार्फत नयाँ दर लागू गरिएको जानकारी दिए।

    नयाँ व्यवस्थासँगै उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले पहिलेजस्तो न्यूनतम १० दिनका लागि अनिवार्य ५०० अमेरिकी डलर एकमुष्ट शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ। अब पर्यटकले कति दिन बस्छन्, त्यति दिनको मात्र शुल्क तिरे पुग्ने व्यवस्था मिलेको छ।

    यसअघि १० दिनका लागि ५०० डलर तिरेर जाने पर्यटकले समय थपिएमा प्रति दिन ५० डलर अतिरिक्त बुझाउनुपर्ने व्यवस्था थियो। शुल्क महँगो भएर धेरै पर्यटक कागबेनी वा मुक्तिनाथमै फर्किने गरेका थिए।

    लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले सरकारको निर्णयले निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीबाट उपल्लो मुस्ताङ हटाउने आफूहरुको माग आशिंक रूपमा भए पनि सम्बोधन भएको बताए। लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले पनि शुल्क संरचना परिवर्तन सकारात्मक भएको प्रतिक्रिया दिए।

    अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाअन्तर्गत पर्ने उपल्लो मुस्ताङ क्षेत्रमा बर्सेनि झण्डै डेढ लाख विदेशी पर्यटक प्रवेश गरे पनि ३–४ प्रतिशत मात्र पर्यटक त्यहाँसम्म पुग्ने गरेका छन्। नयाँ शुल्क प्रणाली लागू भएपछि उपल्लो मुस्ताङतर्फ विदेशी पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar