सिटी होटल लिमिटेडले घाटा घटाउँदै नाफामुखी यात्रा तय

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडौँ  । हकप्रद सेयरको लिलामी प्रक्रियामा रहेको सिटी होटल लिमिटेडले वर्षेनि घाटा घटाउँदै नाफामुखी यात्रा तय गरेको छ। कम्पनीले सञ्चालन सुधार, नयाँ व्यावसायिक पहल र वित्तीय भार न्यूनीकरणमार्फत आम्दानी र नगद प्रवाहमा सकारात्मक प्रभाव पार्ने प्रयास गरिरहेको छ।

    पछिल्ला वर्षमा सिटी होटल उच्च ब्याज तिर्न बाध्य थियो। हाल, हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने योजना अनुसार आगामी त्रैमासदेखि ब्याज खर्च ३०–३५ प्रतिशतले घट्ने अपेक्षा गरिएको छ। गत आर्थिक वर्षमा कम्पनीले २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो।

    कम्पनीले क्यासिनो, नयाँ जिम र स्पा सञ्चालनमार्फत आय स्रोत बढाउने तयारी गरेको छ। काठमाडौंको सोल्टी मोडस्थित सिटी होटल करिब ५ अर्ब लगानीमा निर्माण भएको हो र प्रतिस्थापन लागत अहिले ७–८ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

    सिटी होटलले होटल परिसरका प्रयोगविहीन स्थान भाडामा उपलब्ध गराउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल टोलीलाई आवास तथा भोजन सेवा प्रदान गर्ने योजना पनि बनाएको छ।

    होटलको वित्तीय विवरण अनुसार, सञ्चालनमा आएको २०७८ देखि घाटा क्रमिक घट्दै आएको छ। आर्थिक वर्ष २०७९–८० मा २७ करोड २२ लाख, २०८०–८१ मा २० करोड ३२ लाख र गत आर्थिक वर्षमा १९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ।

    सिटी होटल अन्तर्गत हायात सेन्ट्रिक होटल सञ्चालनमा रहेको छ। दुई वर्षअघि हायात प्लेस ब्राण्डको परिवर्तन गरेर हायात सेन्ट्रिक बनाइएको हो।

    सिटी होटल लिमिटेडले कात्तिक २३ देखि २१ लाख ५० हजार ४१८ अवितरित हकप्रद शेयरको लिलामी बिक्री खुला गरेको छ। यसमा संस्थापक समूहका १९ लाख ८९ हजार ९९९, सर्वसाधारण समूहका १ लाख ५४ हजार ४१९ र कर्मचारीका ६ हजार शेयर बिक्रीमा राखिएको छ। न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar