घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

  • कालिका खवर
  • सोमवार, कार्तिक ३, २०८२
  • म्याग्दी: म्याग्दीका किसानहरूले घुम्ती गोठमा पशुपालन गर्दा सुरक्षाका लागि कुकुर पाल्ने परम्परा जोगाइरहेका छन्। महिनौँसम्म जङ्गलमा एक्लै गोठालो गर्ने किसानका साथीका रूपमा रहेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट भेडाबाख्राको रक्षा गर्छन्। ग्रामीण भेगमा कुकुर बिना गोठको कल्पनै गर्न सकिँदैन।

    धवलागिरी गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालका अनुसार कुकुरले राति, बिहान र साँझ गोठ वरिपरि पहरा दिन्छ। “कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिँदैन,” उनले भने, “चरनमा गएका पशुलाई भिरमा जान नदिने, साँझ खेदेर गोठमा ल्याउने र चितुवा वा स्याल देख्दा भुक्दै चेतावनी दिने गर्छ।”

    ढोरपाटन शिकार आरक्षको बुकी क्षेत्रमा भेडापालन गर्दै आएका धवलागिरी गाउँपालिका–३ मुनाका ८३ वर्षीय लिलबहादुर पुनले पनि तीनवटा ‘भोटे कुकुर’ पालेका छन्। उनका अनुसार कुकुरले भेडाबाख्रासँगै गोठालाको पनि सुरक्षा गर्छ। धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालका अनुसार सयौँ पशुको हेरचाह गोठालाले एक्लै सम्भाल्न नसक्ने भएकाले कुकुरलाई “बफादार सहयोगी” मानिन्छ।

    म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका गोठालाले सामान्यतया तीस किलोभन्दा बढी तौल हुने, अग्ला र बलिया ‘भोटे कुकुर’ पाल्ने गर्छन्। यस्ता कुकुरका छाउराको मूल्य प्रतिगोटा रु १० हजारभन्दा बढी पर्छ। कृषक नेत्रप्रसाद राम्जालीका अनुसार कुकुरले जङ्गली जनावरको चाल छिटो सुन्ने, सुँघेर पत्ता लगाउने र मालिकप्रति बफादार हुने विशेषता राख्छ।

    बिहान–साँझ पिठोको खोले, भेडाको दूध र मासु उनीहरूको मुख्य खाना हो। किसानहरू एक स्थानमा करिब १०–१५ दिन गोठ राखेर वरपरका खर्कमा चराएपछि अर्को ठाउँमा सार्ने गर्छन्। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाका करिब २०० गोठमा २० हजारभन्दा बढी बरुवाल र भ्याङलुङ जातका भेडा पालिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar