जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

  • कालिका खवर
  • बिहिबार, असार ११, २०८३
  • चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् ।

    आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले सञ्चारकर्मीलाई आत्ममूल्यांकन गर्न आग्रह गरे। “आम सञ्चारकर्मी मित्रहरूले आफूलाई आफैँले सोध्नुपर्ने प्रश्न के हो भने हामीमाथि जनताको विश्वास छ कि छैन ?” उनले भने ।

    आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै अघि बढ्न सके आगामी पाँच वर्षमा देशले गति लिएजस्तै सञ्चार क्षेत्रले पनि नयाँ गति लिन सक्ने उनको भनाइ थियो ।

    सञ्चार क्षेत्रलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सबै सरोकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानुन संशोधनमार्फत सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताए ।

    सञ्चारकर्मीसँगको सहकार्यबाट यस क्षेत्रलाई सबैले गर्व गर्न सक्ने र जिम्मेवार संस्थाका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । पृथक प्रसङ्गमा उनले वर्तमान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत गर्नेगरी काममा क्रियाशील रहेको बताए ।

    सञ्चार क्षेत्रको उन्नति, यसलाई सम्मानित क्षेत्रका रूपमा स्थापना गर्ने र जनविश्वास आर्जन गर्ने बनाउन सबैले गम्भीर भएर मनन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

    उनले सञ्चार क्षेत्रमा देखिएका समस्याको खोजी गरी समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए। सञ्चार क्षेत्र बलियो बनाउन सञ्चारकर्मी स्वयं जिम्मेवार हुनुपर्ने उनको कथन थियो ।

    विज्ञापन क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले विज्ञापन नीति ल्याउने तयारी गरिरहेको जानकारी सञ्चार मन्त्रीले दिए। विज्ञापन क्षेत्रलाई उद्योगका रूपमा विकास सरकारको लक्ष्य रहेको उनको कथन थियो ।

    “विज्ञापनलाई औपचारिक क्षेत्रमा कसरी रूपान्तरण विज्ञापन नीति केन्द्रित छ,” उनले भने । लोककल्याणकारी विज्ञापन सरकारले नरोकेको स्पष्ट गर्दै मन्त्री तिमिल्सिनाले वास्तविक श्रमजीवी पत्रकारलाई यसबाट लाभान्वित गराउन सरकारले चाहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar