हङकङमा ‘गोरखा फाइनान्स लिमिटेड’ स्थापना

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • हङकङ । नेपाली समुदायको पहलमा स्थापना गरिएको ‘गोरखा फाइनान्स लिमिटेड’को औपचारिक शुभारम्भ भव्य समारोहका बीच सम्पन्न भएको छ। चिम सा शुईस्थित YMCA Tower को विशेष हलमा आयोजित कार्यक्रममा नबिल बैंक लिमिटेड नेपालका सीइओ मनोज कुमार ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले नेपालमा पछिल्ला वर्षहरूमा थुप्रै वित्तीय संस्थाहरू धरासयी भएको उदाहरण प्रस्तुत गर्दै लगानी सुरक्षित गर्न सावधानीपूर्वक योजना बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले आर्थिक क्षेत्रमा पारदर्शिता र विश्वास जगाउन समुदायकै नेतृत्वमा स्थापना भएका संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

    गोरखा फाइनान्सको सुरुवात नेपाली समुदायकै सहयोग र सुझावका आधारमा भएको सञ्चालक डिके दाहालले जानकारी दिनुभयो। उहाँले भने, “हङकङमा नेपालीहरूको आफ्नै बैंक होस् भन्ने हाम्रो लामो समयको सपना थियो, आज त्यो सपनाको प्रारम्भिक कदम अघि बढेको छ।”

    समारोहमा हङकङमा आवद्ध विभिन्न सामाजिक, व्यावसायिक तथा संस्थागत व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले गोरखा फाइनान्सलाई समुदायकै स्वामित्व र पहिचानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

    यस अवसरमा सञ्चालक दाहाल र आकाश बन्जारालाई उपस्थित अतिथि तथा शुभेच्छुकहरूले बधाई र शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमले नेपाली समुदायबीच आर्थिक आत्मनिर्भरता र संस्थागत एकताको सन्देश दिएको आयोजकहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar