कृषि विकास बैंकले निष्क्रिय कर्जा नियन्त्रणमा उल्लेखनीय सफलता

  • कालिका खवर
  • आइतवार, भदौ १५, २०८२
  • काठमाडौँ । कुनैबेला सबैभन्दा बढी निष्क्रिय कर्जा बोकेको कृषि विकास बैंक अहिले कर्जा गुणस्तर सुधार र प्रविधि–आधारित व्यवस्थापनमार्फत उल्लेखनीय सुधार गर्न सफल भएको छ। खासगरी खुद्रा बैंकिङमा सक्रिय रहेको उक्त बैंक अहिलेको जटिल वित्तीय अवस्थामा पनि निष्क्रिय कर्जा न्यून स्तरमा राख्न सक्षम बनेको हो।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङका अनुसार, पछिल्ला वर्षमा ‘रियल टाइम क्रेडिट इन्फर्मेसन सिस्टम’ जडान गरी सबै शाखाको दैनिक कर्जा विवरण, वर्गीकरण र असुली अवस्थाको रिपोर्टिङ गर्ने प्रणाली सुरु गरिएको छ। यसले विगतमा व्यक्तिनिर्भर रहँदै आएको कर्जा नियन्त्रणलाई प्रणालीगत बनाउन मद्दत पुगेको छ।

    गत असार मसान्तसम्म बैंकले दुई खर्ब २४ अर्ब रुपैयाँ ऋण प्रवाह गरेकोमा ७ अर्ब ४ करोड रुपैयाँ निष्क्रिय कर्जा रहेको थियो। तर नयाँ प्रणालीले दैनिक आधारमै निष्क्रिय कर्जा गणना गर्ने सुविधा दिएको गुरुङले जानकारी दिए। उनले भने, “हामी असार मसान्तकै स्थिति दैनिक देखाउन सक्ने गरी प्रणालीलाई अघि बढाएका छौं।”

    नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार, एक पटक निष्क्रिय कर्जामा सूचीकृत ऋणलाई ६ महिना असल कर्जामा फर्काउन नपाइने व्यवस्थाले बैंकको वित्तीय विवरण अझै अपेक्षा अनुसार आकर्षक नदेखिएको गुरुङको भनाइ छ। तर गत वर्ष २ अर्ब ८५ करोड रुपैयाँ प्रोभिजन छुट्याउनुपरेकोमा यस वर्ष मात्र १० करोड हाराहारी छुट्याउनु परेकोले नाफा ५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

    बैंकले ब्याज असुलीमा पनि सुधार गरेको छ। गत वर्ष ३ अर्ब ८४ करोड उठ्न बाँकी ब्याज घटेर यस वर्ष ३ अर्ब ३६ करोडमा झरेको छ। मानव स्रोत विकास, संरचनागत सुधार र व्यवसाय विविधिकरणले पनि बैंकको वित्तीय विवरण मजबुत बनाएको बताइएको छ। सरकारी स्वामित्वको यो बैंकले योग्य नेतृत्व, प्रणालीगत सुधार र जनशक्ति व्यवस्थापनमार्फत वित्तीय स्वास्थ्य छोटो समयमा सुधार गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar