६२० किमि रेन्ज र लाइडार प्रविधिसहित अपडेटेड दीपल एस–०५ सार्वजनिक

  • कालिका खवर
  • शुक्रबार, साउन २२, २०८३
  • काठमाडौं । चांगान अटोमोबाइल ग्रुपअन्तर्गतको विद्युतीय सवारीसाधन ब्रान्ड दीपलले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी एस–०५को अपडेटेड संस्करण सार्वजनिक गरेको छ। कम्पनीले नयाँ मोडल चिनियाँ बजारमा बिक्रीका लागि उपलब्ध गराएको हो।

    नयाँ दीपल एस–०५ पाँचवटा भेरियन्टमा उपलब्ध रहेको छ। यसको सुरुआती मूल्य १७ हजार ७६० अमेरिकी डलर तोकिएको भए पनि सीमित अवधिका लागि १६ हजार ९०० अमेरिकी डलरमै बिक्री गरिने कम्पनीले जनाएको छ।

    कम्पनीले नयाँ एस–०५ मा डिजाइन, स्मार्ट ड्राइभिङ, इन्टेरियर तथा प्रविधिमा उल्लेखनीय सुधार गरेको छ। बाहिरी डिजाइनमा क्लोज्ड–अफ ग्रिललाई यथावत् राख्दै नयाँ ‘फ्लाइङ स्याडो’ डिजाइन, ‘दीपल आई’ एलईडी हेडल्याम्प, १८ इन्चका नयाँ अलोय ह्वील तथा सेमी–हिडन डोर ह्यान्डल समावेश गरिएको छ।

    रियर–ह्वील ड्राइभ प्रणालीमा आधारित नयाँ एस–०५ मा २०० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ, जसले २६८ हर्सपावर उत्पादन गर्छ। कम्पनीका अनुसार यो एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ६.२८ सेकेन्डमा हासिल गर्न सक्छ।

    यसमा ५६.१२ किलोवाट–आवर र ६८.८२ किलोवाट–आवर क्षमताका सीएटीएल लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीको विकल्प उपलब्ध छ। यी ब्याट्रीले क्रमशः ५२० किलोमिटर र ६२० किलोमिटर (सीएलटीसी) रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

    सबै भेरियन्टमा ३सी सुपरचार्जिङ सुविधा उपलब्ध छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्मको चार्ज १५ मिनेट वा सोभन्दा कम समयमा पूरा गर्न सक्ने बताइएको छ।

    नयाँ एस–०५ को लम्बाइ ४,६२० एमएम, चौडाइ १,९०० एमएम, उचाइ १,६०० एमएम तथा २,८८० एमएम ह्वीलबेस रहेको छ।

    इन्टेरियरमा ‘फ्लोटिङ स्टारसिप’ डिजाइन, लेदर फिनिस, उड–ग्रेन प्यानल र २५६ रङको एम्बियन्ट लाइटिङ समावेश गरिएको छ। साथै १५.६ इन्चको २.५के फ्लोटिङ टचस्क्रिन, स्टेयरिङ पछाडि रहेको गियर सिफ्टर र आधुनिक स्मार्ट ककपिटले केबिनलाई थप प्रिमियम बनाएको छ।

    यसको प्रमुख आकर्षण लाइडारमा आधारित ‘एडीए पाइलट’ स्मार्ट ड्राइभिङ सिस्टम हो। गाडीमा २७ वटा उच्च क्षमताका सेन्सर जडान गरिएका छन्, जसमा एक लाइडार, तीन मिलिमिटर–वेभ राडार, १२ अल्ट्रासोनिक राडार र ११ एचडी क्यामेरा समावेश छन्।

    स्मार्ट ककपिट ३ एनएम अटोमोटिभ–ग्रेड चिपबाट सञ्चालित छ। यसमा दीपल ओएससँगै डिपसिक आर१ एआई प्रणाली समावेश गरिएको छ। साथै, एफएसडी र एचआरएस भेरिएबल एडाप्टिभ सस्पेन्सनले ड्राइभिङ अनुभवलाई थप आरामदायी बनाउने कम्पनीको दाबी छ।

    दुईवटा होराइजन जे६एम चिपबाट सञ्चालित यस एसयूभीमा २५६ टप्स कम्प्युटिङ क्षमता रहेको छ। कम्पनीका अनुसार यसमा सहरी सडक, राजमार्ग र पार्किङका लागि उपयोगी ९० भन्दा बढी स्मार्ट ड्राइभिङ फिचर समावेश छन्।

    चीनमा बिक्री सुरु भएसँगै अपडेटेड दीपल एस–०५ निकट भविष्यमा नेपाली बजारमा पनि प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar