५०५ किलोमिटर रेन्जसहित ‘लिपमोटर बीओ-थ्री-एक्स’ नेपालमा सार्वजनिक, पहिलो १०० ग्राहकलाई ४४.९९ लाख

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को अवसर पारेर नयाँ विद्युतीय एसयूभी ‘लिपमोटर बीओ-थ्री-एक्स’ (Leapmotor B03X) नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले एक्स्पोको मञ्चबाट गाडी सार्वजनिक गर्दै बुकिङसमेत खुला गरेको हो।

    ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ अर्थात् सहरी आवागमनलाई थप स्मार्ट बनाउने अवधारणामा आधारित बीओ-थ्री-एक्सलाई नेपाली बजारमा आधुनिक प्रविधि, लामो रेन्ज र व्यावहारिक डिजाइनको संयोजनका रूपमा प्रस्तुत गरिएको छ।

    ५०५ किलोमिटरसम्मको रेन्ज

    लिपमोटर बीओ-थ्री-एक्समा १४५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ५०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ।

    नेपाली सडकलाई ध्यानमा राख्दै गाडीमा १९० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स दिइएको छ। यसले सहरी सडकसँगै उबडखाबड तथा विभिन्न भौगोलिक अवस्थाका सडकमा समेत सहज यात्रा गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

    ५१० लिटरको बुट स्पेस

    डिजाइनका हिसाबले बीओ-थ्री-एक्सलाई फराकिलो र व्यावहारिक एसयूभीका रूपमा तयार गरिएको छ। यसमा ५१० लिटरको बुट स्पेस उपलब्ध छ भने यात्रुका लागि फराकिलो केबिन दिइएको कम्पनीले जनाएको छ।

    गाडी पाँचवटा फरक रङको विकल्पमा उपलब्ध हुनेछ। यसले ग्राहकलाई आफ्नो रुचिअनुसार गाडी छनोट गर्न थप विकल्प प्रदान गर्नेछ।

    लेभल–२ ड्राइभर असिस्ट सिस्टम

    सुरक्षाका लागि बीओ-थ्री-एक्समा लेभल–२ चालक सहायता प्रणाली (ADAS) उपलब्ध छ। यसले विभिन्न ड्राइभिङ अवस्थामा चालकलाई सहायता गर्दै सुरक्षित तथा सहज ड्राइभिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

    स्टेलान्टिससँगको सहकार्य

    लिपमोटरले विश्वप्रसिद्ध अटोमोबाइल समूह स्टेलान्टिससँगको सहकार्यमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै आएको छ। कम्पनीका अनुसार लिपमोटरले विश्वभर १६ लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री गरिसकेको छ भने ४० भन्दा बढी देशमा आफ्नो बजार विस्तार गरेको छ।

    पहिलो १०० ग्राहकलाई ४४.९९ लाख

    मूल्यका हिसाबले पनि बीओ-थ्री-एक्सलाई नेपाली बजारमा प्रतिस्पर्धी बनाइएको छ। सांग्रिला मोटर्सका अनुसार पहिलो १०० जना ग्राहकले ४४ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा गाडी खरिद गर्न सक्नेछन्।

    लामो रेन्ज, उच्च क्षमताको मोटर, १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, लेभल–२ चालक सहायता प्रणाली र प्रतिस्पर्धी मूल्यका कारण लिपमोटर बीओ-थ्री-एक्सले नेपाली विद्युतीय एसयूभी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar